• १८ पुस २०८१, बिहिबार

पर्वतीय सङ्ग्रहालयमा चिनियाँ फोटो प्रदर्शनी

blog

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चिनियाँ टोली । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ,कात्तिक २३ गते। पोखरा महानगरको वडा नम्बर १७ मा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शुक्रबारदेखि चीनको युनान प्राप्तका तस्बिर प्रदर्शनीमा राखिएका छन्। युनान प्रान्तका पर्वत, हिमाल, पर्वतीय खेलकुद आदि समेटिएका ६० फोटाहरु डिसेम्बर ३१ सम्म प्रदर्शनीमा राखिनेछन्। 

शुक्रबार आयोजित समारोहमा युनान प्रान्तीय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुओ, पोखरा महानगरका कार्यवाहक प्रमुख मोतीराज तिम्सिना लगायतले प्रदर्शनी सुरुआत गर्नुभयो। कार्यक्रममा झोङहुओले दुई देशबीचको युगौंदेखिको सम्बन्धलाई अझै बलियो बनाउन यस खालका गतिविधिले योगदान गर्ने अपेक्षा सुनाउनुभयो। 

‘पर्वतले पर्वतलाई भेट्छन्, बासिन्दा नजिक हुन्छन्’ भन्ने उद्घोषका साथ फोटो प्रदर्शनी गरिएको हो। सोही समारोहमा युनान खेलकुद ब्युरोका तर्फबाट सङ्ग्रहालयलाई दुई लाख नगदका र ३० वटा फोटो स्टेन्ड हस्तान्तरण गरिएको छ। 


कार्यक्रममा सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले छिमेकी चीनका तस्बिरहरु प्रर्दशनी र उच्च पदस्थको आगमनले यहाँ चिनिया पर्यटकको आगमन बढ्ने अपेक्षा सुनाउनुभयो। 

पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आएको चिनिया टोलीले फोटो प्रदर्शनीसहित सङ्ग्रहालय अवलोकनसमेत गरेको छ। 

सङ्ग्रहालय सञ्चालक समितिका सदस्य धर्मराज पन्थीले पोखरामा भएको फोटो प्रदर्शनी र क्रस कन्ट्री दौडले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पु¥याउने उल्लेख गर्नुभयो। शुक्रबारै पोखराको बसुन्धरापार्कमा बनेको पोखरा कुनमिङ मित्रता पार्क उद्घाटन गरिएको छ।