• २६ पुस २०८१, शुक्रबार

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

blog

तस्बिर : एएफपी

युक्रेन (किएभ), कात्तिक २३ गते । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।

मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताउनुभएको छ । 

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाउनुभएको छ । 

युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको जनाउनुभएको छ ।

किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ ।

यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको  र आक्रमणबाट कम्तीमा दुई जना घाइते भएको बताउनुभएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए भने धेरै जिल्लामा आगो लागेको थियो ।

रूसले सन् २०२४ फेब्रुअरीदेखि नै ड्रोन र मिसाइलले  युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ ।

पछिल्लो समयमा युक्रेनी अधिकारीहरूले रूसी हवाई आक्रमणहरू रोक्नका लागि आफ्ना सहयोगीहरूबाट हवाई रक्षा प्रणालीलगायतका सहयोगको अपेक्षा गरिरहेका छन् । रासस/एएफपी