• १० मंसिर २०८१, सोमबार

पोखराबाट 'अग्निदहनको' प्रचार सुरु

blog

नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसारका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी कलाकार।

रमेश पौडेल

पोखरा, कात्तिक २३ गते । नेपाली चलचित्र 'अग्निदहनको' प्रचारप्रसार पोखराबाट सुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण पक्ष जुटेको हो । 

चलचित्र पत्रकार संघ नेपाल कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफू धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताउनुभयो । 

निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको जनाउनुभयो ।

कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोही सिनेमा भएको बताउनुभयो । 

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, माधवशरण पौडेललगायतको अभिनय छ ।