• २६ पुस २०८१, शुक्रबार

चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च

blog

दाहसंस्कार खर्च हस्तान्तरण गरिँदै । तस्बिरः धनगढी उपमहानगरपालिका

अविनाश चौधरी

धनगढी, कात्तिक २३ गते । धनगढी उपमहानगरपालिकाले एक वर्षमा नगर क्षेत्रका चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च दिएको छ । उपमहानगरपालिकाले दाउरा खरिदका लागि विपन्न परिवारलाई पाँच हजार रुपियाँका दरले दाहसंस्कार खर्च दिएको हो ।

कसैको मृत्यु भएपछि आर्थिक अभाव भएका परिवारले शव जलाउन टायरसमेत प्रयोग गर्ने गरेका थिए । त्यस कार्यलाई रोक्न उपमहानगरपालिकाले विपन्न परिवारलाई २०८० असोज १ गतेबाट दाउरा खरिदका लागि दाहसंस्कार खर्च दिन सुरु गरेको थियो । 

दाहसंस्कार खर्चका लागि धनगढी उपमहानगरपालिकाको टोलफ्री नम्बरमा जानकारी आएपछि दुई जना नगर प्रहरी सम्बन्धितको घरमै पुगेर नगद पाँच हजार रुपियाँ दिने गरेको नगर प्रहरी प्रमुख, प्रहरी निरीक्षक पदमबहादुर गैरेले जानकारी दिनुभयो । उहाँले नगर प्रहरीले मृतकको पार्थिव शरीरमा धनगढी उपमहानगरपालिकाको झन्डा ओढाएर सलामी दिने गरेको बताउनुभयो । 

दाहसंस्कार खर्चस्वरुप धनगढी उपमहानगरपालिकाले हालसम्म २३ लाख ३० हजार रुपियाँ वितरण गरेको छ । यसैगरी, धनगढी उपमहानगरपालिकाले घाटसम्म शव लैजानका लागि निःशुल्क रुपमा शव बाहन सेवा पनि उपलब्ध गराउँदैआएको छ । त्यस्तै, केही दिन घरमै शव सुरक्षित राख्नुपर्ने अवस्थाका परिवारलाई शव चिस्यान पनि दिने गरेको छ । शव चिस्यान सेवा छिमेकी पालिकालाई दिइने गरिएको छ ।