• १० मंसिर २०८१, सोमबार

‘हामी साथमा छौँ’ भनेर सरकारले झुक्यायो

blog

भूकम्पले क्षतिग्रस्त आठबिसकोट नगरपालिकाको छेपारेगाउँ ।

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई भूकम्प प्रभावित क्षेत्रमा हालसम्म आधुनिक बस्ती विकास र पुनर्निर्माण सकिने आशा लागेको थियो । गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएलगत्तै तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरू र त्यसपछि राष्ट्रपति नै आएर ‘हामी साथमा छौँ’ भनेर ढाडस दिँदा स्थानीय सरकारसँगै पीडितहरूको पीडामा मलम लागेको थियो, नयाँ आशा जागेको थियो । 

वर्ष दिनसम्म पनि सरकारको आश्वासन पूरा हुन नसकेपछि पीडितले सरकारले झुक्याएको, झुटो आश्वासन दिएको गुनासो गर्न थालेका छन् । सरकारले प्रभावितसँगै सिङ्गो राज्य रहेको र तत्काल पुनर्निर्माण सुरु गर्ने आश्वासन पाउँदा एक वर्षमै पुनर्निर्माण सम्पन्न हुने आशा जागेको तर वर्ष दिनसम्म पनि सरकारले पुनर्निर्माण कार्यविधि बनाउन नसकेकोमा नगरप्रमुख केसीको दुखेसो छ । 

उहाँले वर्ष दिनसम्म पुनर्निर्माण त के अस्थायी टहराकै रकम नपाउनु दुर्भाग्य रहेको बताउनुभयो । स्थानीय सरकारको नेतृत्वमा खोज, उद्धार, उपचार, राहत वितरणको काम प्रभावकारी भएको तर सङ्घीय सरकारमार्फत हुनुपर्ने पुनर्निर्माणको काम हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जाजरकोट र रुकुमपश्चिमका बासिन्दाको पीडा र सङ्घीय तथा प्रदेश सरकारको अवस्था हेर्दा निकै उदेक लाग्ने गरेको छ । सरकारले हामी साथमा छौँ भनेर झुक्यायो ।”

जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पनि भूकम्पको क्षतिलाई अवसरका रूपमा लिएर नयाँ ढङ्गले बस्ती विकास, पुनर्निर्माणलगायतका काम हुने आशा लागेको तर निराशा बन्दै गएको उल्लेख गर्नुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “प्रभावितहरू अत्यन्तै अप्ठ्यारो अवस्थामा गुज्रिरहेका छन् । जतिसक्यो छिटो कार्यविधि बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।” कार्यविधिपश्चात् मात्र विभिन्न दातृ निकायले समुदाय, टोल तथा लक्षित क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने उहाँको भनाइ छ ।  

विनाशकारी भूकम्पले अकल्पनीय रूपमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकै तथ्याङ्क अनुसार जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका छन् ।

विद्यालय, स्वास्थ्य चौकी, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्त्विक महत्वका सम्पदा ध्वस्त भए । विनाशकारी भूकम्प गएको एक वर्ष पूरा हुँदासम्म पनि भूकम्पले ढलेका यहाँका बस्ती उठ्न सकेका छैनन्, थलिएकै छन् । 

भूकम्पबाट प्रभावित अझैसम्म पनि आफन्त, पशुचौपाया र घर गुमाउँदाको पीडाले सहज अवस्थामा पुग्न सकेका छैनन् । मौसमी समस्या बढ्दा जोखिमपूर्ण अवस्थामा बसेका बासिन्दालाई सुरक्षित राख्न झन् चुनौतीपूर्ण बन्दै गएको छ । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले घरसँग मान्छेको मन जोडिएको हुनाले सुरक्षित आवास निर्माण नहुँदासम्म पीडितको मन लयमा फर्कन कठिन भएको बताउनुहुन्छ ।