• १७ मङ्सिर २०८२, बुधबार

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा

blog

कपडा वितरण गर्दै नगरप्रमुख खड्का । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मङ्सिर १७ गते । बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । 

बाँसगढी नगरपालिका र क्लोथ एण्ड फुड बैकको सहकार्यमा करिब एक हजार जनालाई न्यानो कपडा वितरण गरिएको हो । जाडोको समयमा कपडा किन्न नसक्ने र अरुको भर पर्नुपर्ने व्यक्तिलाई कपडा वितरण गरिएको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताउनुभयो । 

नगरपालिकाले समन्वय गरेर क्लोथ एण्ड फुड बैंकले बर्दियामै पहिलो पटक ठुलो सङ्ख्यामा न्यानो कपडा वितरण गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाका सम्पूर्ण वडामा गएर छनाेट गरिएका विपन्न ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिनेछ । 

मङ्गलबार बाँसगढी नगरपालिकाको वडा नं ४, ५  र ६ मा न्यानो कपडा वितरण गरिएको छ । बुधबार २, ३, ७, ८ र ९ वडामा वडा कार्यालयमार्फत कपडा वितरण गरिएको छ । बिहीबार वडा १ मा कपडा वितरण गर्ने योजना रहेको नगरप्रमुख खड्काले बताउनुभयो । 

जाडो याममा न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिक विपन्न वर्ग र अपाङ्गता भएका व्यक्तिहरू हर्षित भएका छन् । बाँसगढी नगरपालिका वडा ५ कर्णाली टोलका उदयचन्द्र अधिकारीले नगरपालिका र क्लोथ एण्ड फुड बैंकले सञ्चालन गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । 

उहाँले अहिलेसम्म यति ठुलो संख्यामा विपन्न नागरिकलाई कपडा वितरण नभएको बताउँदै जाडोमा कपडा किन्न नसक्नेका लागि ठुलो राहत भएकोे बताउनुभयो । न्यानो कपडा वितरणसँगै बर्दियामा पहिलो पटक कपडा बैंकको दानपेटिका स्थापना गरिएको छ । 

घरमा काम नलाग्ने पुराना कपडा बैंकमा लगेर दान गर्ने र पछि बुटवलमा लगेर सफा गरी पुनः प्रयोग गर्न योग्य बनाई गरिब तथा विपन्न परिवारलाई वितरण गरिन्छ । हालसम्म ९८ वटा स्थानीय तहसँग सहकार्य गरेर दुईसय सात स्थानमा कपडा दानपेटिका स्थापना गरिएको क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीले बताउनुभयो । 

शहरी र गाउँ क्षेत्रबाट निस्कने फोहोरको ठुलो हिस्सा पुराना कपडा भएको हुनाले त्यसलाई पुनः प्रयोगमा ल्याई देशबाट कपडामा बाहिरिने रकमलाई रोक्ने र विपन्न नागरिकलाई कपडा दिने योजनासाथ बैंक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

बर्दियामा पहिलो पटक बाँसगढीमा धेरै सङ्ख्यामा न्यानो कपडा वितरण गरिएको छ । सँगसँगै बाँसगढी बजारमा पुराना कपडा दानपेटिका राखिएको छ । दानपेटिकामा सङ्कलन भएका पुराना कपडा सफा गरेर पुनः प्रयोग गर्न योग्य बनाइने हुनाले नगरप्रमुख खड्काले सबैलाई पुराना कपडा ल्याएर कपडा बैँकमा दान गर्न आग्रह गर्नुभयो ।