• १० मंसिर २०८१, सोमबार

आठ वर्षपछि सडक निर्माण सुरु

blog

बुटवलको नयाँ बसपार्कअगाडि निर्माणको काम हुँदै । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता 

बुटवल, कात्तिक २२ गते । निर्माण व्यवसायीको लापर्बाहीका कारण विगत आठ वर्षदेखि अलपत्र परेको बुटवलको मुख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ । ठेक्का सम्झौता भएको आठ वर्षमा पनि साढे तीन किलोमिटर सडक बनाउन निर्माण व्यवसायीले लापर्बाही गरेपछि सडक विभागले पुरानो ठेक्का सम्झौता रद्द गरी बाबुल दर्शन मालिका जेभीले नयाँ टेन्डरमार्फत निर्माणको जिम्मा पाएको हो । अहिले बुटवलको नयाँ बसपार्कअगाडिको क्षेत्रबाट निर्माणको काम सुरु भएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तीन किलोमिटर सडक आठ वर्षमा पनि निर्माण सम्पन्न नगरी आलटाल गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा पाएको बताउनुभयो । 

सूचना अधिकारी लम्सालका अनुसार उक्त सडक एक वर्षमा सम्पन्न गर्ने र छ लेनमा विस्तार गर्ने गरी असोज १८ गते ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यसअघि बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक बनाउन सात वर्षअघि बिरुवा जेभी कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपियाँमा ठेक्का पाएको थियो । २०७६ सालसम्ममा सडक विस्तार सक्ने गरी २०७३ चैत १३ मा ठेक्का सम्झौता भएको थियो तर निर्माण कम्पनीले सडक निर्माणमा लापर्बाही गरेपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता रद्द गरेको हो । 

यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । पटक पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले दुई महिनाअघि पुरानो ठेक्का रद्द गरी नयाँ टेन्डर गरेको थियो । अब निर्माण हुने उक्त सडकको लेन छ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी गरिएको छ । अब सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।