• १० मंसिर २०८१, सोमबार

मुख्य राजमार्गमै छैन सिसी क्यामरा

blog

सिसी क्यामराविहीन भरतपुरको बाइपास सडक । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, कात्तिक २२ गते । भरतपुरको मुख्य राजमार्गमा सिसी क्यामरा जडान नहुँदा अपराधलगायत घटनाको अनुसन्धान गर्न समस्या परेको छ । 

भरतपुरको गोद्राङदेखि नारायणगढसम्मको छ लेनको सडक निर्माण गर्ने भन्दै चार वर्षअगाडि हटाएको सिसी क्यामरा अहिलेसम्म जडान गरिएको छैन । बिग्रने र काम गर्न छाडेपछि पहिला नै समस्यामा आएको थियो । सडक विस्तारका क्रममा क्यामरा हटाएपछि अहिलेसम्म जडान नहुँदा अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । 

“काठमाडौँ जाने र पूर्वपश्चिम राजमार्ग यही जिल्लामा भएका कारण सवारी दुर्घटना अन्य जिल्लामाभन्दा धेरै यहीँ हुने गरेको छ । अन्य आपराधिक गतिविधिलाई पनि नियन्त्रण गर्न सिसी क्यामराले अनुसन्धानमा धेरै सहयोग पुग्ने थियो,” उहाँले भन्नुभयो, तर वर्सौंदेखि क्यामरा नहुँदा प्रहरीलाई काम गर्न समस्या भएको छ । चितवनको मोवाखोलादेखि लोथरसम्मको ९० किलोमिटर सडक मुख्य राजमार्गमा पर्छ ।”

पूर्व र पश्चिमबाट आएका राजधानी जान आएका सवारीसाधनको चाप यहीँ पर्ने भएकाले सिसी क्यामरा अति आवश्यक छ । सिसी क्यामरा जडानका लागि भरतपुर महानगरपालिकाले बजेट विनियोजन गरेर ठेक्का प्रक्रियामा गएको जानकारी भए पनि काम सम्पन्न नभएको उहाँले बताउनुभयो । सुरक्षाको संवेदनशीलताका लागि सिसी क्यामरा राजमार्ग, मुख्य सडक चोकमा हुनुपर्ने प्रमख जिल्ला अधिकारी प्रकाश पौडेल बताउनुहुन्छ । 

भरतपुर महानगरपालिकाले महानगरभित्रका सडकसहित सार्वजनिक स्थलमा सिसी क्यामरा जडान गर्न चालु आर्थिक वर्षमा आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । महानगरवासीको सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न सो रकम विनियोजन गरी ठेक्का प्रक्रियाबाट काम अगाडि बढेको उपप्रमुख चित्रसेन अधिकारीले गरेको बताउनुभयो । अहिले नमुना परीक्षणका लागि काम भइराखेको उहाँले बताउनुभयो । 

भरतपुर महानगरबाहेक भरतपुर र रत्ननगर जोड्ने राजमार्गको सिसी क्यामरा आठ वर्षअगाडि जोडिएको थियो तर अहिले त्यो क्यामराले काम गर्न छाडेको धेरै वर्ष बितिसकेको छ तर मर्मत तथा नयाँ जडान भएको छैन । वन र वन्यजन्तुको संरक्षणका लागि कडाइ गर्न २०७३ असार ३० गतेबाट सिसी क्यामराले निगरानी थालेको थियो । त्यसको एक महिना निकुञ्जका अधिकारी, सेना, वनरक्षक तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागितामा सडकमै कार्यक्रम गरेर प्रचार गरिएको थियो । 

अहिले सिसी क्यामरा कति वटा सञ्चालनमा छ भन्ने जानकारीसमेत छैन । वन्यजन्तुको कोरिडोर क्षेत्र भएकाले सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिएर भागेमा कारबाही गर्न सजिलो होस् भनी राखिएको क्यामराको प्रयोगमा छैन । संरक्षणकर्मी रामपृत यादवले वन्यजन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।