• १२ पुस २०८१, शुक्रबार

साठी लाख रुपियाँ भाडा बचत

blog

कालीकोट समाचारदाता

कालीकोट, कात्तिक २१ गते । जिल्लाको खाँडाचक्र नगरपालिका सरकारी भवनमा सरेको छ । लामो समयसम्म भाडाको घरमा बस्दै आएको नगरपालिका सरकारी भवनमा सरेपछि भाडाबापत वार्षिक ६० लाख रुपियाँ बजेट बचत भएको छ । नगरपालिका स्थापनादेखि मान्म बजारका चार वटा घर भाडामा लिएर नगरपालिका बस्दै आएको थियो । 

नगरपालिका अहिले मान्म बजारमा निर्माण भएका दुई वटा ठुला एकीकृत भवनमध्ये एउटा भवनमा सरेको छ । भवन निर्माण सम्पन्नलगत्तै कोरोना अस्पतालका रूपमा प्रयोग गरिएको सो भवन पछिल्लो समय खाली थियो । महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा कालीकोट जिल्लाको डोर प्रमुख भएर आउनुभएका मुकुन्द घिमिरेले सरकारी भवन खाली रहेको र नगरपालिका भाडामा बस्न राम्रो नभएको सुझाव दिएपछि नगरपालिका सरकारी भवनमा सरेको हो । नगरपालिकाका लेखा प्रमुख धीरबहादुर शाहीले सरकारी भवनमा कार्यालय सरेपछि नगरपालिकाको वार्षिक ६० लाख रुपियाँ बचत हुने बताउनुभयो । 

एकीकृत दुई वटा भवनमध्ये एउटा भवनमा जिल्ला निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, हुलाक र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय बस्दै आएका छन् । 

डोर प्रमुख घिमिरेले नगरपालिकाको भवन निर्माणका लागि ठेक्का भएकाले उक्त ठेक्का रद्द गर्नसमेत सुझाव दिनुभएको लेखा प्रमुख शाहीले बताउनुभयो । यसमा केही रकम वडा कार्यालय, चार वटा प्रहरी चौकी र केही सामुदायिक स्वास्थ्य एकाइका लागि खर्च भए पनि अरू बजेट भने विकासे काममा लगाउन सकिने छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रबलजङ्ग शाहीले सरकारी सम्पत्तिको सदुपयोग गर्ने विषयमा सबै एक मत भएकाले सरकारी भवनमा सर्न सहज भएको बताउनुभयो ।