• १० मंसिर २०८१, सोमबार

आँधीहुरीको सम्भावनापछि नेपाल र स्कटल्यान्डको खेल रद्द

blog

ग्रान्ड पिएरे मैदान । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक २० गते । आँधीहुरीको सम्भावनापछि आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ ।

अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ ओभरमा एक विकेटको क्षतिमा २६ रन बनाउँदा आँधीहुरीको सम्भावना बढेपछि खेल रोकिएको हो । यससँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले अमेरिकासँग ३७ रनले पराजित भएको थियो । 

लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाल अहिले १२ खेलमा दुई जित, आठ हार र दुई खेल मौसमका कारण रद्द हुँदा ६ अङ्कसहित सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ मा १२ खेल सकेको अमेरिका १६ अङ्कसहित शीर्षस्थानमा छ ।

समान खेलबाट १४ अङ्क बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको क्यानडाको १२ खेलबाट १६ अङ्क छ । नेपालले अब लिग–२ को अर्को सिरिज स्कटल्यान्डमा सन् २०२५ को मेमा खेल्लेछ ।