• २४ मंसिर २०८१, सोमबार

छठमा बढ्यो केराको व्यापार

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बिक्रीका लागि राखिएको केरा । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक २० गते ।
छठपर्व सुरु भएसँगै सुनसरीमा केराको व्यापार बढेको छ । छठ पूजामा अनिवार्य प्रसाद सामग्रीको रूपमा केरा प्रयोग हुने भएकाले केराको माग बढेको हो ।

छठमा केराको अत्यधिक माग भएपछि जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा अहिले केराको मूल्य अन्य मौसमभन्दा तेब्बर रुपमा बढेको उपभोक्ताहरुले बताएका छन् । छठपर्वका लागि अत्यधिक बिक्री हुने केरा यस वर्ष प्रति कोसा १५ रुपियँसम्म र प्रति घरी पाँच सयदेखि एक हजार पाँच सय रुपियाँमा बिक्री भइरहेको छ । विगतको वर्षमा प्रति कोसा पाँच रुपियाँसम्म र प्रति घरी १५० रुपियाँदेखि पाँच सय रुपियाँमा खरिद बिक्री भएकोमा यस वर्ष निकै महँगोमा खरिद गर्नुपरेको व्रतालु  उपभोक्ताहरूले बताएका छन् ।

इनरुवा ९ का भोला यादवले गत वर्ष डेढ सयदेखि पाँच सयसम्ममा पाउने केराकाे घरी यसवर्ष तेब्बर बढी मूल्यमा खरिद गर्नुपरेको बताउनुभयो । इनरुवा –१० का दीपेश गुप्ताले यतिका महँगोमा कहिले पनि केरा किन्नु नपरेको गुनासो गर्नुभयो ।

उपभोक्तालाई केरा महँगो भएपछि गुनासो आए पनि किसान भने निकै खुसी भएको कृषि प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो । अरुबेला खासै केराको सोचे जस्तो मूल्य नपाएपछि छठमा केराको घरी चढाउने भएकाले महँगोमा बेच्न पाएको इनरुवाका किसान श्याम यादवले बताउनुभयो । 

छठका लागि दुई चार दिन अगावै केरा खरिद गर्नुपर्ने भएकाले छठपर्वमा केराको अभाव भइरहेको उपभोक्ताको गुनासो भए पनि किसानले बल्ल भाउ पाएर दङ्ग भएको महसुस गरेको केरा व्यापारी रमेश मेहताले बताउनुभयो ।

मेहताका अनुसार विगत वर्षमा भारतबाट आउने केरा छ्यापछ्याप्ती हुन्थ्यो, लक्ष्मीपूजाकै दिन कैयौँ ट्रक केरा सीमावर्ती र सदरमुकाममा भण्डारण हुन्थ्यो । यस वर्ष भारतीय केरा आएन, त्यही भएर महँगिएको हो ।

सुनसरीमा मात्रै एक लाख घरी केराको माग रहेको व्यापारीहरुको दाबी छ । प्रत्येक छठ व्रतालुले एक घरी अनिवार्य जस्तै र केही कोसाहरु समेत चढाउने भएकाले सुनसरीमा छठको समयमा वार्षिक एक लाख घरी केराको माग रहेको केरा व्यपारी राजेश मेहताको कथन छ ।