• २६ पुस २०८१, शुक्रबार

पोखरीमा कारसहित डुबेका महतो र ठाकुरको शव निकालियो

blog

जनार्जन खत्री

सर्लाही, कात्तिक २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा  मङ्गलबार पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । 

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता हुनुभएको थियो । 

बेपत्ता महतो र ठाकुरलाई पोखरीभित्र डुबेको कारबाट मृत अवस्थामा बाहिर निकालिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले पानीमा डुबेको कारभित्रबाट दुवै जनाको शव निकालेको हो । 

मृतक दुवैको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ । 

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।