• १२ पुस २०८१, शुक्रबार

पाकेको धान पानीले नष्ट, किसानको पीडा न धान न पराल

blog

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक २० गते । काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएको हो । वर्षाले भित्र्याउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ । 

केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराई डराई धान काटेका कृषकलाई वर्षाले निराश पारेको हो । वर्ष दिनसम्म खाने धान बाली भिजाएपछि कृषकलाई चिन्ता परेको छ । 

वालिङ नगरपालिका–१० का कृषक विष्णु पौडेलको ५ रोपनी खेतमा लगाएको धान खेतमा नै रुझेको छ । वर्ष भरी खाने धान नराम्रोसँग रुझ्दा आफू चिन्तित भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,“धान कोटको पाँच दिन भयो मङ्गलबार घरमा लैजाने भनेको पानीले रुझायो, अव न धान गतिलो हुने भयो नत पराल नै ।”

पौडेल मात्रै होइन स्याङ्जाका धेरै कृषक यती बेला चिन्तामा छन्, तिहार मनाएर धान भित्र्याउने तयारी गरेको कृषकलाई ठुलो वर्षाले चिन्तित बनाएको हो । 

जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार एक रातको बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाकेर काटेको धानमा क्षति पुगेको छ । सोमबारको बेमौसमी झरीले गुणस्तरीय धान उत्पादनमा ह्रास आउन सक्ने हमालको भनाई छ । कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम बाँकी रहेको उहाँको भनाई  छ । झन्डै ६० प्रतिशत कृषकले धान बाली भित्र्याई सकेको अनुमान रहेको प्रमुख हमालले बताउनु भयो । 

स्याङ्जामा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । जिल्लाका ११ वटै पालिकामा धान बाली लगाइने गरेको छ । आँधी खोला किनार, काली गण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेती दोभान फाँटहरू र बिरुवा फाँटहरू धान खेतीका उर्वर क्षेत्र हुन । स्याङ्जामा सावित्री, मन्सुरी, रामधान,हाईब्रिड प्रकृतिका साथै केही उन्नत जातका धान खेती गरिन्छन् भने केही ठाउँमा स्थानीय जातका धान पनि रोप्ने गरिन्छ ।

बेमौसमी वर्षाले रुझेको वालिङ नगरपालिका–१० का कृषकको धान बाली । तस्बिर राधाकृष्ण डुम्रे ।