• २० कात्तिक २०८१, मङ्गलबार

पोखरीमा कार खस्दा दुई जना बेपत्ता

blog

कार दुर्घटनामा परेको स्थल । तस्बिर ः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानीपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् । 

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता हुनुभएको हो । कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ । 

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली समेत भर्खरै घटनास्थलमा आइपुगेको छ । 

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।