• १० मंसिर २०८१, सोमबार

बरंजाको आगादेउ पर्व सम्पन्न

blog

मगर समुदायले आगादेऊ पर्व मनाउँदै । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक १९ गते । लामो समयदेखि मनाइँदै आइएको पुरानो मध्येको एक पर्व मंगला गाउँपालिका –३ र ४ नम्बर वडाका ५४ कुरिया मगरहरुले विविध विधिसहित आगादेऊ पर्व सम्पन्न गरेका छन् । 

१३ औँ सताब्दीदेखि निरन्तर हुँदै आएको संस्कार आगादेउ पुजा मंगला गाउँपालिका –३ बरंजामा तिहारको दिनमा मुडुलो लखेटेपछि सकिएको हो । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरुले यो पर्व हरेक एक वर्ष विराएर मनाउँदै आएका छन् ।

यम पञ्चक शुरु भएसँगै सुरु भएर तिहारको टीका लगाएपछि मुडुला लखेटेपछि आगादेउ पर्व सकिन्छ । आगादेउ पुजामा स्थानीय ५४ कुरिया मगरहरुको मात्र सहभागितामा हुने गर्दछ । १३ औं शताब्दीमा बरंजा क्षेत्रमा आएका ९ थरका ५४ कुरिया मगरहरुको अहिलेसम्म १३ पुस्ता पुगेको ५४ कुरीया मगर समुदाय अन्तर्गतका अगुवा चित्र रोकाले बताउनुभयो ।

५४ कुरिया (घर) मगरहरुले मनाउने भनिने उक्त आगादेव पुजामा ५४ कुरिया मगर समुदायको मात्र सहभागिता रहन्छ । वि.सं. १३१२ ताका ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको उक्त पर्व प्रत्येक तेस्रो वर्ष अर्थात एक वर्ष बिराएर तिहारको समयमा मनाउने गरिन्छ । यसअघि २०७९ सालमा मनाइएको पर्व अब २०८३ मनाइने चित्र रोकाले बताउनुभयो । 

अर्का युवा बुद्धिबहादुर घर्तीका अनुसार आन्तरिक संस्कारका रुपमा लिइने आगादेउ पुजाको पहिलो दिन आफ्नो जातिका महिला र अन्य जातिका सबै मानिसले बरंजाको निश्चित क्षेत्रबाट अन्यत्र जानु पर्ने चलन छ । 

परापूर्वकालमा अनिवार्य बस्ती छाड्नु पर्ने भनिए पनि पछिल्लो समय आएर अन्य जातिलाई अनिवार्य छैन । काग तिहारदेखि शुरु भएर तिहारको दिन सकिने उक्त संस्कारमा आफ्ना झाँक्रीहरुले देउतासँग समन्वय गर्नेसम्मको हुन सक्ने मान्यता रहेको घर्तीले बताउनुभयो ।

५४ कुरियाका झाँक्रीहरु जम्मा भएर नौ थर घर घुम्ने काम भएको थियो । पहिलो दिन झाँक्री बसेर नौथरे घुम्ने, दोस्रो दिन बिहान भेडाको साँडले बलि दिएर भतेर लगाउने, तेस्रो दिन सुगुरले पुजा गरेर भतेर लगाउने तथा तिहारको टीका लगाएपछि मुडुला लखेट्ने यो समुदायको आगादेउ पुजाको मुख्यविधि हुन् । मुडुला लखेट्ने भनेको भुतप्रेतलाई लखेट्ने रहेको छ ।

२०४० को दशकसम्म पनि मगर समुदायका पुराना महिला सबै भाग्नु पर्ने र अन्य सबै भाग्नु पर्ने र यदि अन्य समुदायका मानिसहरु आफ्नो घरमा बसेको खण्डमा आगादेउले उनीहरुलाई ‘भष्म’ गरिदिने भन्ने मान्यता रहेको थियो । आगादेउ पुजाको सन्दर्भमा फरकफरक धारणा आउने गरेको भए पनि १३ औं शताब्दीदेखि निरन्तर रुपमा यस क्षेत्रमा यो पुजा हुँदैआएको हुँदा पुरानो संस्कार जोगाउँदै आधुनिकिकरण पनि गरिनु पर्ने उनीहरुको भनाइ छ । 

यस क्षेत्रको ५४ कुरीया मगरहरुको भाषा, धर्म र संस्कृति जोगाउँदै अघि बढ्नका लागि पनि आगादेउ पुजा महत्वपूर्ण सावित हुने उनीहरुको भनाइ छ । ५४ कुरियाबाट सुरु भएको मगरहरुको पछिल्लो तथ्याङ्कको आधारमा हेर्दा चारसय भन्दा  बढी घर पुगेका र जनसंख्या दुई हजार तीनसय माथि पुगेको अनुमान छ ।