• ११ मंसिर २०८१, मङ्गलबार

बालगोपालेश्वरमा भक्तजनद्वारा पूजा आराधना

blog

काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ​परिसरमा आइतबार भाइटीका लगाउँदै । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौँ, कात्तिक १८ गते। प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन्। 

दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजे अघिदेखि नै मन्दिर प्रवेश गरेका थिए। मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो। मन्दिर आज भक्तजन आएसम्म खुला गरिने पनि उहाँले बताउनुभयो। 

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रुपमा काम गर्नुभएकी सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसी बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउनुहुन्छ। विगत वर्षमा भन्दा यस पटक भाइटीकाका अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उहाँले बताउनुभयो।

भाइटीकाका दिनमा मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरु भाइटीका लगाउने गर्छन्। सामुदायिक प्रहरी पुरानो बसपार्ककै कार्य समिति सदस्य निशा अलि खानले विगत वर्षमा भन्दा यसपटक मन्दिर आउने भक्तजन बढेको बताउनुभयो। मन्दिर आउने धेरैजसो भक्तजन खाली निधार आई यहाँ आएर टीका लगाई फर्केका छन्। 

मन्दिरमा काम गर्दै आउनुभएका रमेश कपाली भक्तजनको सङ्ख्या धेरै भएकाले मन्दिरमा दिनभर नै घुइँचो लागेको बताउनुहुन्छ। केही महिलाले मन्दिर परिसरमा बसेर दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगाएर प्रसाद दिएका थिए।  मन्दिर क्षेत्रमा दिनभर सामुदायिक प्रहरी कार्यसमितिका सदस्यहरुले स्वयंसेवीका रुपमा काम गर्नुका साथै महानगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा दिएको थियो। 

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाई नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन्। यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो। यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको घुइँचो लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजन आउँछन्,” उहाँले भन्नुभयो। 

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन्। नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका छन्।