• १० मंसिर २०८१, सोमबार

मौरीपालनबाट वार्षिक ३५ लाख आम्दानी

blog

पर्वत, कात्तिक १८ गते । कुनैबेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि रु ३५ लाख आम्दानी गर्न थाल्नुभएको छ । उहाँ सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो । 

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा पर्नुभएको थियो । सुन्तलामा भविष्य नदेखेपछि उहाँ मौरीपालनतर्फ आकर्षित हुनुभएको छ । 

सुरुमा उहाँले घरको आँगनमा केही मौरी पाल्न थाल्नुभयो । माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताउनुभयो । पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उहाँले यो व्यवसायबाट वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

किसान तिमिल्सिनाले भन्न्नुभयो, “यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पु¥याउन सकिरहेको छैन ।” 

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गर्नुभएको थियो । 

घरवरिपरि मौरीका घारैघार छन् । बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उहाँको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाउनुभएको छ । 

विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका तिमिल्सिनाले वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताउनुभयो । 

सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताउनुभयो । उहाँले वर्षमा दुईपटक मह निकाल्ने गर्नुभएको छ । विसं २०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ ।

उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिनुभयो । “कुश्माबजार, बागलुङ, काठमाडाँै, पोखरा र बुटबललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन्”, उहाँले भन्नुभयो । 

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभएको थियो । उहाँले महमात्र बिक्री गर्नु हुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्नुहुन्छ । मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा आम्दानी गर्नुहुन्छ । उहाँको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाउनुभयो । 

मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्माले बताउनुभयो । 

उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ । रासस