• १० मंसिर २०८१, सोमबार

रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज खुल्ने

blog

काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर। फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते । काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । हरेक वर्ष यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीकाका दिन यो मन्दिर खुलाइने चलन छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बिचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।