• १८ पुस २०८१, बिहिबार

महायज्ञको ८१ लाख गौशालाको अक्षय कोषमा

blog

गौशालाका लागि रकम हस्तान्तरण गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १८ गते ।
 वालिङमा गौशाला व्यवस्थापनका लागि अक्षयकोष बनाइएको छ । वालिङ नगरपालिका–८ को काफलडाँडामा रहेको धुनी शिवालय गौशालालाई व्यवस्थापन गर्दै दिगो रूपमा सञ्चालनका लागि अक्षयकोष बनाइएको हो । छाडा गाईगोरुलाई व्यवस्थापन गर्दै गौ संरक्षणका लागि सुरु गरिएको गौशालामा झन्डै एक सय ५० गाई छन् ।

गएको २०७९ सालमा गरिएको महायज्ञबाट बचत भएको ८१ लख रुपियाँ गौशालाको अक्षय कोषमा राखिएको हो । यसलाई बढाएर कम्तीमा एक करोड बनाउने योजना रहेको वालिङ नगरपालिकाका निवर्तमान प्रमुख दिलिपप्रताप खाणले बताउनुभयो । उहाँले भन्नुभयो, “सहयोगी दाता र विभिन्न धार्मिक कार्यक्रम गरेर गौशालाको अक्षय कोष बढाउने योजना छ ।” अक्षय कोष बनाए पछि दिगो रूपमा गौ संरक्षण गर्न सहज हुने उहाँको भनाइ छ ।

गौशालाका अध्यक्ष कमलप्रसाद सुवेदीले एक व्यक्ति एक गाई संरक्षणअन्तर्गत गौशालामा रहेको कुनै एक गाईलाई नियमित दाना र अन्य सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो । पछिल्लो समय घरघरमा गाई पाल्ने अवस्था नरहेकाले गौशालामा रहेका गाईहरूलाई आ–आफ्नो तर्फबाट संरक्षण गर्न सक्ने व्यवस्था मिलाइको उहाँको भनाइ छ ।

यसैबिच गौशालामा सामूहिकरुपमा गौपूजा गरिएको छ । गौपुजा गर्दै पण्डित नेत्रप्रसाद पराजुलीले गोप्रदत्त पदार्थहरू अमृत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाईबाट जे जे पदार्थहरू बनाउन सक्दछौँ ती सबै अमृत समान हुन् ।”

दुबईमा रोजगारीका क्रममा रहेका नेपालीहरूले जम्मा गरेको ३१ हजार रुपियाँ गौशाला हस्तान्तरण गरिएको छ । अक्षय कोषमार्फत गौशालाको व्यवस्थापन गर्न रकम हस्तान्तरण गरिएको पण्डित पराजुलीले बताउनुभयो ।