• २५ मंसिर २०८१, मङ्गलबार

पर्यटन सम्भावनामा हुम्ला अब्बल : मुख्यमन्त्री कँडेल

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित प्रदेश मन्त्रीहरु ।

कालीबहादुर थापा

सिमकोट, कात्तिक १७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुग्नुभएको छ । प्रदेशको नीति कार्यक्रमअनुसार हुम्लाको वस्तुस्थिति बुझ्न यहाँ पुगेको बताउनुभयो । उहाँले हुम्ला पर्यटकीय हिसाबले सबैभन्दा अब्बल जिल्ला भएको बताउनुभयो ।

हुम्लामा दृश्यावलोकनका लागि होइन यहाँको वास्तविकता, यहाँका जनजीविकाको सवाल, विकास निर्माण, कृषि सम्भावनालगायत यावत विषयवस्तु बुझ्नका लागि हुम्ला पुगेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल कार्य समिति हुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले भन्नुभयो, प्रदेशले पास गरेका जिल्ला तहमा कार्यान्वयन गर्नुपर्ने सम्बन्धित स्थानीय तहका योजनाको संस्थागत जानकारी कार्यान्वयनको समन्वयका लागि आफू हुम्ला आएको बताउनुभयो   

बजेट ल्याउँदा र बजेट कार्यान्वयनको अवस्था बुझ्न हिमाली जिल्ला हुम्ला पुगेको उहाँको भनाइ छ । हुम्ला कर्णाली प्रदेशको दश वटै जिल्लामध्येको एकमात्र पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले आर्थिक स‌म्वृद्धिको सम्भावना बोकेको जिल्ला रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ । 

यस्तै, मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसँग सिधै हवाई उडानका लागि पहल भइरहेको बताउनुभयो । त्यसैगरी जिल्लामा हुने नियमित हवाई उडानको समस्याका विषयमा पनि आफू जानकार रहेकाले यसका लागि पहल गर्ने आश्वासन दिनुभयो । 

सुर्खेत हुम्ला नेपाल एयरलाइन्सको नियमित उडानका लागि सङ्घीय सरकारसँग पनि पहल हुने उहाँले बताउनुभयो । अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न प्रदेश सरकारले भूमिका खेल्ने उहाँले बताउनुभयो । हुम्लाको विकास र यहाँका जनताको समृद्धिका लागि प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कँडेलसँगै हुम्ला पुग्नु भएका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले सदरमुकाम सिमकोट जोड्नका लागि ठुलो समस्याको रूपमा रहेको खार्पुदभोन कर्णाली नदीको पुल निर्माणका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभयो । सडक निर्माणका क्रममा देखिएका विभिन्न समस्या र ढिलाइलाई चाँडो निर्माण सम्पन्न गर्नका लागि निर्देशन दिनुभयो । 

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजय बुढा बोहराले सिमकोटमा देखिएको खानेपानी समस्यालाई आफ्नो मन्त्रालयले तत्काल समाधान गर्ने आश्वासन दिनुभयो । आफू यहाँका स्थानीय भएर हुम्लाको खानेपानी, सिँचाइ लगायत समस्या समाधान गर्नमा लाग्ने मन्त्री बुढाले बताउनुभयो ।