• १४ फागुन २०८२, बिहिबार

नेपाली कांग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक : स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधार प्राथमिकतामा

blog

बिन्दु थापा 

पाल्पा, फागुन १४ गते । नेपाली कांग्रेस पाल्पाले  जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस अब बदलीएको बताउनुुभएको छ । 

उम्मेदवार हिमालदत्त श्रेष्ठले भन्नुभयो कांग्रेसभित्र केही मैलिएको मात्र भएपनि अहिले हामी सबै पखालेर र सफा भएर चुनावी मैदानमा आएका छौं ।” श्रेष्ठले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनहरूले पूर्ण रूपमा परिवर्तन दिन नसकेको चर्चा गर्दै नयाँ पुस्ताले उठाएको सुशासनको मुद्दालाई कांग्रेसले आत्मसात् गरेको बताउनुभयो । राजनीतिक आरोह–अवरोहबाट सकारात्मक पाठ सिक्दै अब देश बदल्ने संकल्पका साथ अगाडी बढेको बताउनुभयो । अबको निर्वाचनपछि मुलुकमा गगन थापाकै नेतृत्वमा सरकार बन्ने र, “अब  गगन सरकारले नागरिकले लामो समयदेखि पर्खिरहेको सुशासनको प्रत्याभूति दिलाउने बताउनुभयो । 

नेपाली कांग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक कार्यक्रममा पाल्पा क्षेत्र नं २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, निवर्तमान जिल्ला सभापति वीरबहादुर राना, पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपाल, कार्यवाहक पार्टी सभापति झपेन्द्र गहिरे, पार्टी सचिव सुनिता अधिकारी, क्षेत्र नं २ का सभापति मुक्तिराम जिसी लगायतले पत्रकार सम्मेलन गरी तानसेनको शित्तलपाटीमा पाल्पाको चौतर्फी विकास र नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना सार्वजनिक गरिएको छ । 

योसँगै जारी घोषणापत्रमा “जीवन बीमालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सार्दै स्वास्थ्य सेवामा आमूल परिवर्तन गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक भएको घोषणापत्रमा उम्मेदवार श्रेष्ठले त्रिभुवन बहुमुखी क्याम्पसलाई पर्यटन तथा प्राविधिक विश्वविधालय बनाउन पहल गर्ने, एक पालिका एक आवासीय विधालय बनाउने, पढ्दै कमाउदै शिक्षालाई कार्यान्वन गर्न पहल गर्ने बताउनुभयो ।

पाल्पा अस्पताललाई एक सय वेडमा स्तरोन्नति गरिने, हरेक पालिकामा कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने, स्वास्थ्य बीमामा रहेको झन्झटिलो ’रेफर’ प्रक्रियालाई हटाएर जुनसुकै रोगको निःशुल्क उपचारको पहल गर्ने, पाल्पालाई पर्यटकीय ’हब’ बनाउन रानीमहल क्षेत्र र रामपुरको तालपोखरालाई जलाशययुक्त तालका रूपमा विकास गरी राष्ट्रिय गौरवको आयोजना बनाउन जोड दिइने, ऐतिहासिक मठमन्दिर, गुम्बा, चर्च र मस्जिदहरूको संरक्षण गर्दै भगवती जात्रा, लाखे नाच र अन्य लोपोन्मुख संस्कृतिलाई प्रवर्धन गरिने, कालीगण्डकी करिडोरमा जल यातायातको सम्भाव्यता अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी जिल्लाको आयआर्जन बढाउने उम्मेदवार श्रेष्ठले जारी गरेको घोषणापत्रमा उल्लेख छ।

किसानका लागि समस्या बनेको बाँदर र जंगली जनावरको समस्या समाधान गर्न आवश्यक कानुन निर्माण गरी ’आतंक’ बन्द गरिने दाबी गरिएको छ । एक वडा एक उत्पादन’को अवधारणा मार्फत सुन्तला, अदुवा, टिमुर र बेसार खेतीलाई व्यावसायिक बनाइने, माडी, अर्गली र कचल लगायतका क्षेत्रमा सिँचाइको उचित प्रबन्ध गरी दुध र मासुमा जिल्लालाई आत्मनिर्भर बनाउन शीत भण्डारको लागि पहल गर्ने उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख छ ।

भौतिक पूर्वाधारलाई विकासको मेरुदण्ड मान्दै सिद्धार्थ राजमार्गलाई डबल डेडिकेटेड बनाउने र जिल्लाका अन्य मुख्य सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता दिने, कुनै पनि नियुक्तिमा दल होइन, अब्बल व्यक्ति  हुनुपर्ने भन्दै सुशासनको क्षेत्रमा समेत नयाँ प्रतिबद्धता उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।   

केन्द्रिय घोषणापत्रमा आधारित रहेर पाल्पाको पनि घोषणपत्र जारी भएकोले गगन सरकार बनेपछि योजना कार्यान्वयन हुने उम्मेदवार श्रेष्ठको भनाइ छ । घोषणापत्रमा नेपाली काग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले युवा नेता गगन थापाको नेतृत्वमा बदलिएको काग्रेसलाई देश बदल्न काँग्रेसका उम्मेदवार जिताउन रुखमा मतदान गर्न मतदातासंग अपिल गर्नुभयो । पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपालले २०४८ सालमा काँग्रेसले पाल्पाका ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरी शुरु गरेको थुप्रै विकास निर्माणका योजना अहिलेसम्म अन्य पार्टीले कार्यान्वयन नगरेकोले काँग्रेस उम्मेदवारहरूलाई मत दिई विजयी बनाउन अनुरोध गर्नुभयो ।

निवर्तमान जिल्ला सभापति वीरबहादुर रानाले पाल्पाको दुई वटै निर्वाचन क्षेत्रमा जेन जी को भावना बुझ्ने, कुनै पनि दाग नलागेका स्वच्छ छवि बनाएका सामाजिक राजनीतिक सेवामा लामो समयदेखि सक्रिय युवा उम्मेरवार हिमालदत्त श्रेष्ठ र सन्दीप रानालाई  जनताले यस पटक विजयी बनाउने विश्वास लिएको बताउनुभयो ।