सन्तोष राउत
सोलुखुम्बु, फागुन १४ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
यस पटक सोलुखुम्बुमा प्रतिस्पर्धामा उत्रिएका अधिकांश उम्मेदवार प्रतिनिधि सभाका लागि नयाँ हुनुहुन्छ । नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा प्रकाशसिंह कार्कीलाई चुनावी मैदानमा उतारेको छ । वि.सं. २०४८ देखि निरन्तर बलबहादुर केसी उम्मेदवार बन्दै आएको यस क्षेत्रमा यस पटक कांग्रेसले उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका समाजसेवी कार्कीलाई अवसर दिएको हो । कार्की २०७४ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित हुनुभएको थियो ।
विगतमा आन्तरिक गुटबन्दीका कारण पराजय भोग्दै आएको कांग्रेसले यस पटक सोलुमा कुनै गुट नरहेको र स्वच्छ छविका उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माण कांग्रेसका मुख्य एजेन्डा छन् ।
त्यस्तै, नेकपा (एमाले) ले पूर्वउपप्रमुख कल्पना राईलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट आउनुभएकी अधिवक्ता राई २०७४ को स्थानीय तह निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ पनि प्रतिनिधि सभाका लागि पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । एमालेले महिला उत्थान र नीति निर्माणलाई मुख्य एजेन्डा बनाएको छ ।
यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बहालवाला गाउँपालिका अध्यक्ष असिम राईलाई उम्मेदवार बनाएको छ । थुलुङ दुधकोसी गाउँपालिकामा दुई पटक अध्यक्ष निर्वाचित राई युवामाझ लोकप्रिय हुनुहुन्छ । सांगठनिक रूपमा तेस्रो शक्ति देखिए पनि व्यक्तिगत प्रभावका आधारमा उहाँ जितको बलियो दाबेदार मानिनुभएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ऋषिधन राई चुनावी प्रचारमा जुट्नुभएको छ । श्रम संस्कृति पार्टीले बियस राईलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीका लाक्पा शेर्पा, आम जनता पार्टीका गुणराज एफ. भट्टराई, नेमकिपाका कमल बहादुर मगर लगायतका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
२०४८ देखि हालसम्म सोलुखुम्बुमा कांग्रेस, एमाले र तत्कालीन माओवादीले आलोपालो जित्दै आएका छन् । २०७९ को निर्वाचनमा भने नेकपा (एमाले) का मानवीर राई विजयी हुनुभएको थियो ।