• १० मंसिर २०८१, सोमबार

चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मदबीच बधाई आदानप्रदान

blog

चिनियाँ राष्ट्रपति सी जिनपिङ । फाइल तस्बिर

बेइजिङ, कात्तिक १६ (रासस/सिन्ह्वा)। चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदानप्रदान गर्नुभएको छ।  

चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्विपक्षीय सहयोगका लागि असल साझेदार रहने बताउनुभएको छ।  

उहाँका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन-संयुक्त अरब इमिरेट्सले  राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ।

सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्रप्रमुखहरू सहमतिमा अर्को चरणमा चीन-युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेकोसमेत जनाउनुभएको  छ।

सीले चीन-युएई सम्बन्धलाई आत्मसात् गर्दै कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाउनुभएको छ।  

आफ्नो सन्देशमा युएईका राष्ट्रपतिले युएई-चीन कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै दुई देशको निरन्तर विकास र समृद्धिका साथै विभिन्न क्षेत्रमा थप सहयोगको कामना गर्नुभएको छ। 

 युएईले सँधै दुवै देशका जनताको फाइदाका लागि युएई-चीन बीच रणनीतिक साझेदारीलाई सुदृढ गर्दै विकास गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।  

सोही अवसरमा चिनियाँ प्रधानमन्त्री ली किआङ र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले पनि बधाई  तथा शुभकामना सन्देश आदानप्रदान गर्नुभएको थियो।

चिनियाँ प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्धको वर्षगाँठ दुई देशका राष्ट्रप्रमुखबीचको सहमति कार्यान्वयन गर्ने अवसर भन्दै चीन-युएई रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन संयुक्त अरब इमिरेट्ससँग काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ।  

बधाई तथा शुभकामना सन्देशमा मोहम्मदले युएईले चीनसँग द्विपक्षीय सम्बन्ध सुदृढ बना  विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको उल्लेख गर्नुभएको छ।