• २५ पुस २०८१, बिहिबार

घरमा आगलागी, लाखौँको क्षति

blog

आगोले खरानी पारेको घर । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक १६ गते । बर्दीबास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौँको मूल्य बरावरको मालसामान खरानी भएको छ । 

स्थानीय नीरबहादुर भन्ने डम्वरबहादुर थापा मगरको एकतले घरमा सोही ठाउँका मोहन यादवले सञ्चालन गर्दैआएको पसलमा आगो लाग्दा १५ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोले ७ लाख मूल्य बरावरको घर र सो घरको पसलमा रहेका किराना, कस्मेटिक, खाधान्न, जुत्ताचप्पल लगायतका गरी करिब ८ लाख मूल्यका सामानहरु जलेको इलाका प्रहरी बर्दीवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।  

आगोले सबै सामान खरानी बनाएपछि पीडित परिवारका सदस्यमा रुवावासी छ । खाने वस्ने सवै जलेपछि परिवार बिच्चलीमा परेका हुन् । पीडित पसले यादवकी श्रीमती रविता देवीकाअनुसार आगोले पसलमा रहेको फ्रिज, रेडिमेड र थानका कपडाहरु, कस्मेटिक, खाधान्न लगायतका सामान जलेको छ ।

थापाको घरमा यादवले २ वर्षदेखि पसल गर्दै आउनुभएको थियो । पसलमा विधुत तार सर्ट भई आगो लागेको बताइएको छ । साँझ ७ बजेतिर सुरु भएको आगो बर्दीवासबाट पुगेको वारुण यन्त्र, प्रहरी र गाउँलेको सहयोगबाट साँझ साढे ८ बजेतिर मात्र आगो नियन्त्रणमा आएको बर्दीवास प्रहरीले जनाएको छ । घटनास्थल बर्दीबासदेखि करिव १० किमी पश्चिमउत्तरमा पर्छ ।