• १५ कात्तिक २०८१, बिहिबार

स्क्यानर मेशिन अलपत्र, सुरक्षाकर्मीलाई सास्ती

blog

जमुनाहा नाकास्थित नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखामा बिग्रिएर थन्किएको लगेज स्क्यानर मेशिन । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १५ गते । नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भनेर ल्याइएको लगेज स्क्यानर मेशिन बिग्रेर अलपत्र अवस्थामा रहेको छ । 

नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको सो लगेज स्क्यानर मेशिनको मर्मत नहुँदा अलपत्र परेर थन्किएको हो । बिग्रेको पाँच छ वर्ष पुग्दा पनि भन्सार कार्यालयको मेशिन मर्मत नहुँदा खटिएका कर्मचारीहरूले हातैले मालसामान छामेर चेकजाँच गर्नुपर्ने बाध्यता रहेको छ ।

दैनिक हजारौँको सङ्ख्यामा सर्वसाधारण यात्रुहरू नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेशिन बिग्रँदा भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सामानहरू हातैले छामछुम पार्दै चेकजाँच गर्ने गरेको छ ।

नेपालबाट भारततर्फ जाने सर्वसाधारणका लागि भने पारीपट्टी भारतीय एसएसबीले राखेको स्क्यानरमा मालसामान चेकजाँच गराउने व्यवस्था छ । एसएसबीले मालसमानको मात्र नभएर प्रत्येक व्यक्तिका लागि अलग्गै स्क्यानरको व्यवस्था गरेको छ । एकातिर मालसामानको स्क्यानिङ हुन्छ भने अर्कोतिर व्यक्तिको स्क्यानिङ हुन्छ ।

सिमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिनका लागि भन्दै भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई सो लगेज स्क्यानर मेशिन खरिद गरी पठाएको बताउनुहुन्छ नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्साल । 

उहाँका अनुसार उक्त मेशिन जमुनाहा नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राख्यो, तर सञ्चालनमा आएको दुई वर्ष पछि उक्त मेशिन बिग्रियो र हालसम्म पनि मर्मत गरिएको छैन ।

“म यहाँ आएको डेढ महिना मात्र भएको छ, मैले सबै कुराको जानकारी लिइसकेको छु, बिग्रेको स्क्यानरलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन पहल पनि गरेको छु” प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भन्नुभयो । 

पौडेलले भन्नुभयो, “नयाँ स्क्यानर मेशिन खरिद र यात्रु कक्षलाई सुधारका लागि करिब एक करोड बढी लागत लाग्ने रहेछ, मैले विभागका डिईसाबलाई यो पनि जानकारी गराएको छु ।”

“सामान चेकजाँचमा बढी समय लाग्ने तथा सुरक्षा खतरा एकातिर छ भने गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरूले पनि बेक्कारको झन्झट व्यहोर्नु परिरहेको छ, हामीलाई असुरक्षित भएर हातैले छामछुम गर्नुपरेको छ, परिणाम पनि राम्रो छैन” सामान जाँच गर्दैगर्नुभएका सशस्त्र प्रहरी नायव निरीक्षक मुनबहादुर शाहीले भन्नुभयो ।