• १५ कात्तिक २०८१, बिहिबार

मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध अप्रेसन

blog

ठुलो आवाज निकाल्ने मोटरसाइकलको स्वरुप परिवर्तन गर्दै ट्राफिक प्रहरी ।

बोमलाल गिरी

नवलपुर, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ । 

ठूलो आवाज आउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो । 

यसरी मोटर साइकलको स्वरुप परिवर्तन गर्ने १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकल चालकले साइलेन्सर, ह्याण्डल, लाइटलगायतका पार्टपुर्जा परिवर्तन गर्ने गरेको ट्राफिक पदाधिकारीको भनाइ छ । 

सामान्य पार्टपुर्जा परिवर्तनलाई पाँचदेखि सातसय रुपियाँ जरिवाना गरेर पठाउने गरिएको छ । ठूलो परिवर्तन गरेकाहरुलाई यातायात कार्यालय पठाउने गरिएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो । 

यातायात कार्यालयले आफूकहाँ आएको स्वरुप परिवर्तनका मोटरसाइकल चालकलाई पाँचदेखि सात हजार रुपियाँसम्म जरिवाना गर्ने गरेको छ । यातायात कार्यालयको अनुमतिविना मोटरसाइकलको स्वरुप परिवर्तन गर्न पाइँदैन ।