• २५ पुस २०८१, बिहिबार

गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि अलपत्र

blog

तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी ,कात्तिक १५ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ । 

हिउँदमा धुलो र वर्षायाममा हिलो सहनु यहाँका उपभोक्ताको दैनिकी जस्तै भएको छ । २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नु पर्ने सडक तोकिएको मिति सकिएको १४ महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । 

लामो समयसम्म सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले पटक पटक ठाउँमा अवरुद्ध गरेको यो सडकले पूर्व पश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली–आमबारी सडकलाई जोड्छ । 

सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरी मार्फत २०७७ मा ठेक्का लागेको सडक कान्छाराम कन्स्ट्रक्सने १ अर्ब ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको हो । त्यतिबेला सडक जिल्ला कै नमुना सडकका रूपमा निर्माण हुने बताइएको थियो ।

दुवै तर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियो ।तर,आधा पनि काम नगरी निर्माण कम्पनीले काम गर्न छोडेपछि स्थानीयको दुर्दशा सुरु भएको छ । 

पथरीशनिश्चरे ९ को महेन्द्रचौकका ८० वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो,  सडकको चौडाइ बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झन्डै ५ कट्ठा जग्गा दिएँ । तर ४ वर्ष पुरा भयो । सडक बनेको छैन । सडक नजिकैका घरमा मात्र होइन, कोठा चोटा समेत धुलाम्मे भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताउनुभयो । 

सुनवर्षी ४ गोलगाउँका चन्द्रप्रसाद राजवंशीले भन्नुभयो, 'नम्बरी जग्गाबाट बाटो दिएको ५ वर्ष हुन लाग्यो, सुनवर्षी नगरपालिका खण्डमा पथरी क्षेत्रमा जति पनि काम नभएको राजवंशीको भनाई छ । सुनवर्षी ६ टकुवाका महेन्द्रप्रसाद केवरतले भन्नुभयो, २ महिना काम गर्‍यो भने पाँच महिना हराउँछन् । सडकको मापदण्ड कायम नगरिदिँदा निर्माणको काम गर्न नपाएको पवननारायण राजवंशीले बताउनु भयो । राजवंशीले तीन वटा सटर सहितको घर बनाउन सुरु गरे पनि सम्पन्न गर्न सक्नु भएको छैन । बेला बेलामा आएर सडकको सिमाना पूर्वपश्चिम सारिरहँदा समस्या भएको राजवंशीले बताउनुभयो । 

यता निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन निर्देशक दीपक थिङले सरकारले समयमा पैसा नदिएकोले काम अघि नबढेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले ऋण खोजेर काम गर्ने हो । सरकार बिल पेस भएको पैसा पनि दिँदैन । निर्देशक थिङले १३ औँ संशोधन पछि थप भएको म्याद आगामी असार मसान्त भित्र सडक निर्माण गरिसक्ने बताउनुभयो । उहाँका अनुसार हालसम्म ४० प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो । माटो भर्ने, सडकको नाला, कल्भर्ट  निर्माण सकिएको छ । अब ग्राभेल बेस र कालोपत्रेको काम बाँकी छ । स्रोत सुनिश्चित भए तोकिएको अवधिमा काम सकिन्छ ।  कतिपय स्थानमा साइड क्लियर भएको छैन । साइड क्लियर नगरीकन ठेक्का लगाउने थितिले पनि काम गर्न अप्ठ्यारो भएको थिङ् बताउनुहुन्छ ।  

२५ किलोमिटर लामो यो सडकले मोरङका पथरीशनिश्चरे,सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी जोड्छ । नेपाल भारतको व्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले ठुलो सास्ती खेप्नु परिरहेको छ ।