• १५ कात्तिक २०८१, बिहिबार

एन्फा महिला सुपर लिग : फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण

blog

वालिङको महिला फुटबल टिम सम्मान र सामाग्री हस्तान्तरण पश्चात् । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १५ गते ।
 एन्फा महिला सुपर लिगमा छनोट भएको वालिङ नगरपालिकाको फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । वालिङमा रहेको ‘द ब्रदर्श’ले महिला फुटबल टिमलाई सम्मान तथा खेल सामग्री हस्तान्तरण गरेको हो ।

गत महिना जिल्लास्तरीय फुटसल प्रतियोगिताको आयोजना गरी बचत भएको रकमबाट महिला खेलाडीलाई मङ्गलबार सम्मान र खेल सामग्री हस्तान्तरण गरेको द ब्रदर्शका अध्यक्ष सागर थापाले बताउनुभयो । उहाँका अनुसार फुटबल तथा अन्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।

महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गर्दै वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिपप्रताप खाणले वालिङमा खेल क्षेत्रको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रलाई महत्त्व दिएर सक्षम र व्यावसायिक खेलाडी उत्पादनका लागि ध्यान दिन जरुरी छ ।”

प्रशिक्षक दिलीप थापाले दसैँ तिहारमा पनि खेलाडीहरू निरन्तर प्रशिक्षणमा रहेको बताउनुभयो ।

विगतका वर्षहरूमा पनि वालिङका सामुदायिक विद्यालयमा सेनेटरी प्याड तथा औषधी बक्सहरू उपलब्ध गराउँदै आएको द ब्रदर्शले जनाएको छ । ‘परिवर्तन कालागि फरक सोचाइ’ भन्ने मूल नारासहित स्थापना भएको संस्थाले बर्सेनि फरक फरक विधामा रचनात्मक कार्यहरू गर्दै आइरहेको अध्यक्ष थापाको भनाइ छ ।

वालिङ–१० का वडा अध्यक्ष सुनिल खनालले नगरपालिकाको तर्फबाट खेलाडीहरूलाई आवश्यक सहयोग र सहजीकरणको काम भइरहेको जानकारी गराउनुभयो ।