• १५ कात्तिक २०८१, बिहिबार

क्रसर व्यवसायी आन्दोलित

blog

बोमलाल गिरी

नवलपुर, कात्तिक १५ गते । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्री उपलब्ध गराएका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । लामो समयसम्म पनि चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले निर्माण सामग्री उपलब्ध गराएका उद्योगी व्यवसायीको रकम भुक्तानी नदिएको भन्दै आन्दोलित भएका हुन् । 

क्रसर व्यवसायी र ढुङ्गा, गिट्टी, बालुवा सप्लायर्सले मङ्गलबारदेखि प्लेकार्डसहित चिनियाँ ठेकेदार कम्पनीको पश्चिम खण्डमा धर्नासहित आन्दोलन सुरु गरेका नेपाल रोडा, ढुङ्गा व्यवसायी समिति नवलपुरका अध्यक्ष भोजेन्द्र रायमाझीले जानकारी दिनुभयो । व्यवसायीले ढुवानी व्यवसायीको भुक्तानी कहिले हुन्छ ? चाइना स्टेट कर्पोरेसनको प्रतिनिधि खोइ ? सबकन्ट्र्याक्टरको भुक्तानी खोइ, हाम्रो बाटो कहिले बन्छ ? लगायतका प्लेकार्ड बोकेका थिए । 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका उपाध्यक्ष रामु अधिकारीका अनुसार ढुङ्गा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ७५ करोड, पेटी ठेकेदारको २० करोड र ढुवानीका लागि प्रयोग भएका एक्साभेटरसहितका सवारीसाधनको पाँच करोड गरी एक अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको छ । यसमा बिटुमिन र छडवालाले पाउनुपर्ने रकम नजोडिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । 

व्यवसायीले १५ दिनभित्र रकम भुक्तान गर्न चिनियाँ ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन् । उपाध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले १५ दिनभित्र हाम्रो भुक्तानी दिन चेतावनी दिएका छौँ, त्यो अवधिमा पनि भुक्तानी नदिए हामीले तिहारपछि नेपाल सरकार र एडिबीलाई समेत जानकारी दिएर ठेकेदार कम्पनीको पूर्वी र पश्चिम खण्डमा तालाबन्दी गर्छौं । यसबाट हुने क्षति स्वयम् कम्पनीले बेहोर्नु पर्ने छ । उहाँले गत चैतदेखि ठेकेदार कम्पनीले प्रयोग गरेका सामानको भुक्तानी नदिएको बताउनुभयो । जेठपछि भने आफूहरूले सामग्री नै नदिएको अधिकारीको भनाइ छ । सेक्टर टु अर्थात् पश्चिम खण्डमा पाँच र सेक्टर वान अर्थात् पूर्वी खण्डमा आठ वटा क्रसर उद्योगले बाटोका सामग्री उपलब्ध गराउँदै आएका छन् । बिलबीजक जारी गरेर भुक्तानी गर्ने गरी सम्झौता भए पनि चिनियाँ ठेकेदार कम्पनीले सम्झौता उल्लङ्घन गरेको व्यवसायीको आरोप छ । गत वर्षमा दसैँतिहारका बेला रकम भुक्तान गर्ने गरे पनि यो पटक एक रुपियाँ पनि नदिएको व्यवसायीले बताएका छन् । 

उद्योगी व्यवसायीले गत शुक्रबार नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई पनि भेटेर रकम भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका थिए । व्यवसायीका कुरा सुनेपछि प्रजिअ पोख्रेलले यसबारे सडक आयोजनालाई जानकारी गराउन र त्यहाँबाट पहल गर्दा पनि नभए कानुनी उपचार खोज्न सुझाव दिनुभयो । उद्योगी व्यवसायीले पाँच महिनाअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई पनि भेटेर रकम भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका थिए । व्यवसायीको आग्रहपछि प्रजिअ श्रेष्ठले चिनियाँ ठेकेदारलाई कार्यालयमै बोलाएर व्यवसायीले सामान ढुवानी नगरेमा बाटो विस्तारमा अवरोध हुन सक्ने भन्दै तत्काल व्यवसायीको रकम भुक्तान गर्न आग्रह गर्नुभएको थियो । 

नारायणगढ–बुटवल सडक आयोजनाले भने रकम भुक्तानीमा समस्या नभएको बताएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बाटोको भौतिक प्रगति भए अनुसार सरकारले रकम भुक्तान गरिसकेको बताउनुभयो । सडक विस्तार गर्दा चाहिने सामग्री चिनियाँ ठेकेदार कम्पनीले स्थानीय व्यवसायीमार्फत खरिद गरी भुक्तान गर्ने र सडक आयोजनाले बाटोको भौतिक प्रगति हेरेर चिनियाँ ठेकेदारलाई भुक्तान गर्ने गर्छ । 

हालसम्म पूर्वी र पश्चिम दुवै खण्ड गरेर ५३ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुखले जनाएका छन् । ११३ किलोमिटर लामो सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमध्ये आधा रकम ठेकेदार कम्पनीले बुझिसकेको छ । व्यवसायीलाई भुक्तानी रकम नदिएको ठेकेदारले वर्षाका कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम भने अझै सुरु गरेका छैन । साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद तीन महिना सकिँदा पनि अझै काम सुरु नगर्दा दसैँतिहारका बेला पनि यात्रुले कष्टका साथ यो सडकखण्डमा यात्रा गर्ने गरेका छन् ।