• १० मंसिर २०८१, सोमबार

गण्डकीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । फाइल तस्बिर

सन्तोष सुवेदी
कास्की, कात्तिक १४ गते । 
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उहाँहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले मन्त्रीहहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेश सरकारले आफैँले आचारसंहिता बनाएर मन्त्रिपरिषद्का सदस्यले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको थियो ।

जसमा जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरू, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पत्ति विवरण समावेश गरिएको छ । गण्डकीका मुख्यमन्त्रीसहित प्रायः सबै मन्त्री धनी देखिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा, काठमाडौँ, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उल्लेख गर्नुभएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाउनुभएको छ ।

अघिल्लो कार्यकालमा भन्दा यसपालि तीन तोला सुन बढाएर अहिले ४५ तोला सुन र सात सय तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ । दुई सेट हिरा र एक सेट मोती समेत रहेको जनाउनुभएको छ । दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार एक सय, बैङ्क तथा वित्तीय संस्थामा पाँच हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा पाँच हजार, छोरा सुयोग्यको नाममा चार हजार कित्ता शेयर रहेको विवरणमा खुलाइएको छ ।

छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैङ्कमा चार लाख ७८ हजार बैङ्क मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैङ्कमा एक लाख ५६ हजार मौज्दात देखाउनुभएको छ । पाण्डेले आफूसँग टिभी दुई वटा, फ्रिज दुई वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गर्नुभएको छ ।