• ११ पुस २०८१, बिहिबार

राजस्थानमा बस दुर्घटना, १२ को मृत्यु, ३० घाइते

blog

नयाँ दिल्ली, कात्तिक १३ गते । भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदैगर्दा दुर्घटना भएको थियो । “आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ” वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले बताउनुभयो । “केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ ।”

दुर्घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल लगेका थिए । एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा. महेन्द्र खिचडले भन्नुभयो, “यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सात जनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ ।”

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतया ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ । अधिकारीहरूका अनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ । रासस, सिन्ह्वा