• २४ पुस २०८१, बुधबार

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

blog

पेशावर (पाकिस्तान), कात्तिक १३ गते । आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोगविरुद्धको लामो अभियानमा भएको यो पछिल्लो क्षति हो ।

“दुई आतङ्कवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि प्रहरी टोलीले दुई आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे”, खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई सहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी मलिक सिकन्दर खानले भन्नुभयो ।

अर्का प्रहरी अधिकारी नवीद उल्लाह खानले पनि यी विवरणहरूको पुष्टि गर्नुभयो । “आक्रमणको समयमा दुई स्वास्थ्यकर्मी घरभित्र थिए र त्यसैले उनीहरू सुरक्षित रहे”, उहाँले भन्नुभयो ।

ओराकजाई सहर पूर्व आदिवासी सीमावर्ती क्षेत्रको एक भाग हो । यो करिब एक दशकअघि तालिबान आतङ्कवादीहरूको शरणस्थल थियो र तालिबानलाई पछि सैन्य अभियानले जरैदेखि उखेलेको थियो ।

पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र त्यस्ता मुलुक हुन् जहाँ पोलियोको प्रकोप कायम छ र खोप टोलीहरूमाथि सुरक्षा बलहरू विरुद्ध अभियान चलाइरहेका आतङ्कवादीहरूले प्रायः आक्रमण गर्ने गर्छन् । रासस/एएफपी