• १५ कात्तिक २०८१, बिहिबार

महिला नेतृत्वको बढोत्तरी

blog

सन् २०२४ नोभेम्बरमा अमेरिकाका लागि राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् । यो निर्वाचनलाई संसारभर महत्वका साथ हेरिएको छ । अमेरिकी इतिहासमा महिला नेतृत्वलाई अबका दिनमा स्वीकार गर्ने कि ? पुरुष नेतृत्वलाई नै पूर्ववत् झैँ निर्वाचित गर्ने ? भन्ने मत रहेका छन् । जुन विषय अमेरिकी मतदातामा भर पर्ने छ । कमला ह्यारिस उक्त निर्वाचनमा निर्वाचित भएमा उनी अमेरिकाको ४७ औँ राष्ट्रपति मात्र होइन, अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति भनेर नाम लेखिने छ । 

‘महिला र पुरुष एउटै सिक्काका दुई पाटा हुन्’भन्ने भनाइ सर्वव्यापी रहँदै आएको छ । लिङ्गकै आधारमा पुरुषलाई प्राकृतिक र आदर्श नेता बनाइन्छ । महिलालाई त्यसो गरिँदैन । त्यस्तो कार्यलाई महिलाप्रतिको अन्यायका रूपमा लिन थालिएको छ । यसर्थ पुरुष र महिलालाई नेतृत्व दिने तरिकालाई पनि फरक रूपमा लिने गरिन्छ । पुरुष र महिलालाई कामका आधारमा छुट्याउने कुनै निर्णायक प्रमाण नभएकाले समाजमा चल्दै आएका परम्परागत धारणालाई नै मूल आधार बनाई महिला नेतृत्वभन्दा पुरुष नेतृत्व अबल र सक्षम हुन्छ भन्ने तर्क गरिन्छ । यही तर्कका आधारमा महिलालाई भन्दा पुरुषलाई बढी नेतृत्वदायी भूमिकामा समाज वा राज्यले स्वीकार गरेको पाइन्छ । लिङ्गका आधारमा नभई महिला वा पुरुषमा भएको व्यक्तिगत योग्यता, क्षमता, गुण, लगनशीलता र कार्यदक्षता जस्ता आधारमा नेतृत्वदायी भूमिकालाई स्वीकार गर्नुपर्ने आवाज उठ्ने गरेको छ, जुन सच्चा न्याय पनि हो ।

प्रभावशाली व्यक्तित्व, ज्ञान, सिर्जनात्मक तथा निर्णय लिने क्षमता, साहसी, आत्मविश्वासी, धैर्य र सहनशीलता, असल चालचलन, स्वच्छ चरित्र नै नेतृत्वदायी भूमिकामा हुनेहरूका आदर्श हुन् । महिला हुन् वा पुरुष कुनै पनि व्यक्तिमा यी आदर्श छन् भने नेतृत्व लिन सक्षम हुने छन् । नेतृत्व कुनै खास प्रकृतिको व्यक्तित्व हो, जसलाई प्रक्रियागत रूपमा लिने गरिन्छ । जसले कुनै उद्देश्य र लक्ष्य हासिल गर्न अरू व्यक्ति वा व्यक्तिको समूहलाई निर्देशन दिने, आदेश तथा नियन्त्रण गर्ने कार्य गर्नुका साथै कामकाज गर्ने इच्छा सिर्जना गराउनेतर्फ आवश्यक प्रभाव पार्छ । नेता एक यस्तो व्यक्ति हो, जो समूहका बिचमा रहेर त्यस समूहका क्रियाकलापमा प्रभाव पारी समूहमा रहेका व्यक्तिलाई सन्तुष्टि दिलाई स्वस्फूर्त काम गर्ने भावना जगाउने क्षमता वा खुबी राख्छ । यसैले नेतृत्वको एक मात्र नभई बहुआयामिक भूमिका हुन्छ । नेतृत्वले अवस्था अनुसार अनुयायीसँग व्यवहार गरी निर्धारित उद्देश्य र लक्ष्य हासिल गर्छ, चाहे त्यो पुरुष होस् वा महिला । 

संसारभर पुरुषको भूमिकालाई व्यावसायिक, प्रतिस्पर्धात्मक क्षमता तथा निर्णायक र उच्च सम्मानका रूपमा परम्परागतदेखि स्वीकार गरिँदै आएको पाइन्छ । अर्कोतर्फ महिलालाई सहयोगी भूमिकाका रूपमा, घरपरिवारको हेरचाह गर्ने, परामर्शदाता, कोमल हृदय र संवेदनशील व्यक्तिका रूपमा लिने गरेको पाइन्छ । यस्ता प्रवृत्तिले गर्दा महिलाको नेतृत्वलाई कमजोर गर्ने प्रयाससमेत हुँदै आएको छ । पुरुषको दाँजोमा महिला नेतृत्वलाई धेरै चुनौती रहेको देखिन्छ । समाजले नै पुरुष नेतृत्वलाई आदर्श रूपमा चिनाउन महिला नेतृत्वलाई अप्रासङ्गिक कमजोरी उल्लेख गर्ने गरिन्छ, जस्तै महिला नेताको बोलाइ, हेराइ, कपालको शैली, रूपरङ, पहिरन (डे«स) आदि विषयलाई उठाएर महिला नेतृत्वको कमजोरी देखाइन्छ । यो नेपालमा मात्र होइन, अन्य मुलुकमा समेत रहेको छ । यसै गरी सार्वजनिक जीवनमा महिलाको प्रगतिलाई प्रत्यक्ष प्रभाव पारी महिलाको उन्नतिमा अवरोध खडा गर्ने गरिन्छ । त्यस्तो कार्य घरबाहिर वा घरपरिवारबाट पनि हुन सक्छ । हुन त यस्ता चुनौती देश अनुसार फरक हुन सक्छन् । उदाहरणका लागि नेपालमा गरिबी आधारभूत चुनौतीमध्ये एक हो । दोस्रो, अति रूढिवादी मूल्यमान्यता र पितृसत्तात्मक सोच हो । यस्ता कुराले प्रत्यक्ष रूपमा महिलालाई राजनीति र अन्य क्षेत्रमा नेतृत्व लिन बाधा पु¥याएको छ । 

तेस्रो, सामाजिक, संस्कृतिक अभ्यास अर्को चुनौती हो । कम उमेरमा विवाह, दाइजो, लैङ्गिक हिंसा महिलाविरुद्धका गम्भीर सामाजिक अभ्यास हुन् । जसका कारण महिलालाई नेतृत्वमा आउन सहज हुँदैन । यसैले कहिले संस्कृति, धर्मको नाम र कहिले गुणस्तर तथा आकृतिको नाममा सामाजिक व्यवहारलाई वैधानिकता दिने गरिन्छ । जुन वास्तविक आधार होइनन् । व्यवहारमा लिङ्गले महिला र पुरुषलाई प्रदान गरिएका सामाजिक रूपमा निर्मित भूमिका वा मापदण्ड वा अति रूढिवादी कार्यले गर्दा महिलाको नेतृत्वदायी क्षमतामा ह्रास आउने गरेको छ । यिनै विषयले गर्दा महिलाको विकास, मर्यादा र सामाजिक हैसियतमा बन्धन खडा हुने गर्छ । विद्यालय वा कार्यस्थल जस्ता विभिन्न ठाउँमा हुने शारीरिक वा यौन हिंसाका कारण महिलालाई समाजमा बढी चुनौती थपिएको हुन्छ, जसले गर्दा नेतृत्वमा पुग्न निकै अप्ठ्यारो हुन्छ । 

धेरैले सोच्छन् पुरुष मानसिकतामा निहित नेतृत्वका कारण, पुरुष स्वाभाविक रूपमा महिलाभन्दा बढी प्रभावशाली र प्रतिस्पर्धी हुन्छन् । त्यसैले महत्वपूर्ण भूमिका प्राप्त गर्ने सम्भावना बढी रहन्छ । निजीदेखि सार्वजनिक जीवनसम्म महिलाका विशिष्ट गुण रहँदारहँदै पनि पछि पर्ने गरेको पाइन्छ । उदाहरणका लागि निजी घरपरिवार, आत्मत्याग, अरूको हेरचाह, समानुपातिक भावना महिलामा बढी हुने भएकाले उनीहरूमा अहङ्कार कम हुने अनुसन्धानले बताएको छ । यसैले जब महिलाले यी सबै चुनौती पार गर्दै सार्वजनिक जीवनमा उपस्थित हुन सकेमा त्यस्ता महिलाको सार्वजनिक जीवन सफल हुने र नेतृत्वदायी क्षमतासमेत अबल हुने छ ।

महिलाको सार्वजनिक जीवन र नेतृत्वदायी क्षमताबारे कुरा गर्दा विश्व परिवेश हेर्नु सान्दर्भिक देखिन्छ, महिलाले राष्ट्रप्रमुखलगायत अन्य नेतृत्वदायी भूमिका लिइसकेको अवस्था छ । चाहे त्यो विकासित राष्ट्र होस् वा विकासोन्मुख वा अन्य । उदाहरणका लागि २० औँ शताब्दीमा बेलायतमा सबैभन्दा बढी लामो समयसम्म नेतृत्व गर्ने प्रधानमन्त्रीका रूपमा मार्गरेट थ्याचर जो ‘द आइरन लेडी’ को नामबाट समेत चिनिएकी छन् । सन् १९६० मा नै श्रीलङ्कामा सिरिमाओ बन्दरानाइके संसारको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नेतृत्वदायी भूमिकामा रहिसकेको अवस्था छ । साथै सोही देशमा नै चन्द्रिका कुमारतुङ्गाले पहिलो महिला राष्ट्रपतिका रूपमा नेतृत्व लिइसकेकी छन् । 

नेपालको सन्दर्भमा श्रीमती विद्यादेवी भण्डारीले नेपालको पहिलो राष्ट्रपतिका रूपमा कार्य सम्पन्न गर्नुभएको छ । यसै गरी भारत, पाकिस्तान, बङ्गलादेश, इजरायललगायत अन्य देशमा पनि महिलाले नेतृत्व लिइसकेका छन् । वर्तमान अवस्थामा भारत, जर्जिया, ग्रिस, मोल्डाभिया, तान्जिनिया, कोसोभो, होन्डुरस, पेरु, मेक्सिकोलगायत धेरै मुलुकमा महिला राष्ट्रपति रहेको पाइन्छ भने डेनमार्क, इटाली, टोगो, थाइल्यान्ड, सामोन, लिथुवानियालगायत अन्य मुलुकमा समेत कार्यकारी प्रधानमन्त्रीको नेतृत्वदायी भूमिकामा महिला छन् । 

विश्व व्यापार सङ्गठनको वर्तमान प्रमुखका रूपमा नाइजेरियाकी पूर्वअर्थमन्त्री गोझी ओकोजो इवियालाले फेब्रुअरी २०२१ देखि १६४ मुलुक सदस्य रहेको विश्व व्यापार सेवासँग सम्बद्ध अन्तर्राष्ट्रिय सङ्गठनको नेतृत्व लिँदै आएकी छन् । यसर्थ ‘महिला र पुरुष एक्कै सिक्काका दुई पाटा हुन्’ भन्ने कुरा उल्लिखित तथ्यबाट पुष्टि हुन्छ । 

जनताले आफ्ना मूल्यमान्यता, सोचाइ र प्राथमिकतालाई सहज तवरले पूरा गर्न, नयाँ सिर्जनात्मक कार्यको व्यवस्था मिलाई सुधारका लागि समायोजन गर्ने अपेक्षा नेतृत्वबाट राखेको हुन्छ । पुरुष वा महिला जसले नेतृत्व गरे पनि समाजमा जनताको अपेक्षा एउटै रहन्छ । अनुसन्धानले राम्रो नेतृत्वसँग सम्बन्धित केही विशेषतामा यौन (लैङ्गिक) भिन्नता रहने कुरालाई देखाएको भए पनि नेतृत्व लिनका लागि दृढता, जोखिम लिने र नैतिकता जस्ता विषयले महत्व राख्छन् । जोसँग यस्ता साहस रहन्छ । ती महिला हुन् वा पुरुष जोसुकै पनि नेतृत्व लिन सक्षम हुन्छन् । महिला नेतृत्वलाई उनीहरूको व्यक्तिगत गुणका आधारमा नभई लिङ्गका आधारमा लिने गरिन्छ । जुन कुरा सामाजिक न्याय होइन भन्ने सबैले स्वीकार गर्नु पर्छ । 

यसै परिवेशमा अमेरिकामा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा मतदाताले महिला वा पुरुष कसलाई महìव दिने हुन्, त्यो त्यहाँका मतदाताको सार्वभौम अधिकार हो । नेतृत्व लिने सन्दर्भमा महिला र पुरुषबिच कुनै विशेष प्रकारको फरक हुँदैन भनी अमेरिकाका प्रोफेसर ब्रनार्ड ब्रासले उल्लेख गरेको विषयलाई मनन गर्नु उचित हुन्छ ।  वर्तमान अवस्थामा महिला नेतृत्वको सङ्ख्यामा बढोत्तरी हँुदै गएकाले अबका दिनमा लैङ्गिक विभेदकै कारणले मात्र महिला र पुरुषबिच नेतृत्व चयनमा खासै फरक पर्ने छैन ।

   

Author

डा. अर्जुनकुमार खड्का