• १२ कात्तिक २०८१, सोमबार

अन्तरपालिका एकायन कराँतेको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८१ हुने भएको छ । नेपाल एकायन कराँते सङ्घले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कात्तिक २४ र २५ गते लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने भएको हो । 

प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका छन् । नेपाल एकायन कराँते सङ्घका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले यस प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्र सञ्चालित नेपाल एकायन कराँते सङ्घका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । उहाँका अनुसार करिब सातसय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

अध्यक्ष डङ्गोलले विगतमा विभिन्न राष्ट्रिय लगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेको बताउनुहुँदै अब आगामी पुसमा एसियाली एकायन कराँते च्याम्पियन्सीपको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसैगरी सचिव बुद्धशरण शाहीले यस प्रतियोगिताका लागि कूल १९ लाख रुपियाँ लागत रहेको र यसमा ७० प्रतिशत सहयोग काठमाडौँ महानगरपालिकाको रहने जानकारी दिनुभयो । एकायन नेपालमै सिर्जित कराँतेको एक विधा हो । नेपाल एकायन कराँते सङ्घ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो ।