• १२ कात्तिक २०८१, सोमबार

सयपत्रीको व्यावसायिक खेतीबाट राम्रो आम्दानी

blog

ढकमक्क फुलेको सयपत्री हेरचाह गर्दै दिलबहादुर । तस्बिर : इमान सिं राना

इमानसिं राना

रामपुर (पाल्पा), कात्तिक १२ गते । तिहार पर्व नजिकिँदै गर्दा बारीमा सयपत्री ढकमक्क फक्रिएका छन् । जिल्लाको रामपुर नगरपालिका–४, देविस्थानमा व्यावसायिक सयपत्री फूल खेती गर्दै आउनुभएका दिलबहादुर थापा र लालबहादुर थापा फूल फक्रिएसँगै उत्साहित हुनुहुन्छ ।    

उहाँहरु समयमै फूल तयार भएपछि उत्साहित हुनुभएको हो । हाम्रो आधुनिक कृषि फर्ममार्फत् उहाँहरुले तरकारीसँगै ६ वर्षदेखि निरन्तर तिहार लक्षित सयपत्री फूल उत्पादन गर्दै आउनुभएको छ । तिहार आउँदै गर्दा थप उत्साह थपिएको कृषक दिलबहादुरले बताउनुभयो । "फूलहरु फक्रिदै छन् । तिहार आउँदै छ । उपभोक्तालाई फूल दिन हामी आतुर छाैं, उत्साहित छौं", उहाँले भन्नुभयो । जिल्लामै पहिलो पटक व्यावसायिक सयपत्री फूल खेतीको सुरुवात गर्नु भएका थापाद्वयले फूलबाटै राम्रो आम्दानी लिँदै आउनुभएको छ । 

सयपत्रीको फूल तथा माला बिक्रीबाट वार्षिक दुई देखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । "गत वर्ष छ रोपनीमा सयपत्री लगाएका थियौं । तर उत्पादन भएको आधा मात्र फूल बिक्री हुँदा पनि तीन लाख आम्दानी भएको थियो," उहाँले भन्नुभयो । 

थापा द्वयले चारदेखि छ रोपनीमा हरेक वर्ष सयपत्री लगाउँदै आउनुभएको छ । 

२०७६ सालमा सयपत्री फूल खेती सुरु गर्दा व्यावसायिक रुपमै खेती गर्ने न्यून रहे पनि अहिले सबै स्थानमा फैलिएको उहाँले बताउनुभयो । सुरुवातका दिन स्मरण गर्दै थापाले भन्नुभयो, ‘धान र तरकारी उत्पादन हुँदै आएको बारीमा सयपत्री लगाउँदा धेरैले के फूल बिक्री गरेर पनि हुन्छ र ? भन्थे । बजार नपाउने हो कि भन्ने चिन्ता हामीमा पनि थियो । त्यही वर्ष स्थानीय उपभोक्ताको माग पूरा गर्नै सकिएन ।’ अहिले जिल्लाको धेरै ठाउँमा सयपत्रीको खेती सुरु भएको उहाँले बताउनुभयो । 

व्यावसायिक तरकारी खेतीमा रमाउँदै आउनुभएका उहाँहरुले लुम्बिनी प्रदेश सरकारले प्रदान गरेका एक हप्ताको तालिमपश्चात् सयपत्रीको उत्पादन सुरु गर्नुभएको थियो ।  यस वर्ष चार रोपनीमा सयपत्री लगाइएको बताउँदै उहाँले साढे दुईलाखसम्मको आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

अर्का कृषक लालबहादुरले फूल तथा माला स्थानीय उपभोक्तालाई प्राथमिकता दिएर वबिक्री गर्दै आएको बताउनुभयो । 

"फूलको माग देशका विभिन्न शहरबाट पनि आउँछ तर नगरभित्रका उपभोक्ताको मागलाई प्राथमिकता दिएका छौं," उहाँले भन्नुभयो । रामपुर नगरभित्र सयपत्री फूल प्रतिकिलो पाँच सय र माला तयार गरेर १५० रुपियाँमा बिक्री हुँदै आएको जानकारी दिनुभयो । तरकारीको तुलनामा फूलबाट कम लागतमा पनि राम्रो आम्दानी लिन सकिने र माटो उपचारको लागि सयपत्री उपयुक्त हुने उहाँहरुको अनुभव छ । सोही अनुसार तरकारी लगाएको बारीमा तिहार लक्ष्यित सयपत्री उत्पादन गर्दै आउनुभएको छ ।

यस वर्ष रामपुर नगरपालिकाले पालिकाभित्र पलाष्टिकको माला बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि कृषकलाई थप राहत मिलेको कृषकहरुको भनाइ छ । फर्मबाट तिहारमा मात्र नभै विशेष मेला र उत्सवको लागि बेमौसममा पनि सयपत्री फूल उत्पादन हुँदै आएको छ ।