• १५ कात्तिक २०८१, बिहिबार

डेनिला मिसेस नेपाल वर्ल्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीले हात पार्नुभएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुम्न सफल हुनुभएको हो । कार्यक्रमका मुख्य निर्णायक एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले उपाधिसँगै स्कुटर पनि पाउनुभएको छ ।  यससँगै उहाँ आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनुहुने छ । 

प्रतियोगितामा एलिना घिमिरे दोस्रो, किरण कार्की दोस्रो र अनु कार्की तेस्रो हुन सफल हुनुभयो । यसै गरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गर्नुभयो । दुई विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने अवसर पाउनु हुने छ । सोही समारोहमा नेपालकी अग्रज कलाकार वसन्धुरा भुसाललाई छ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पु¥याएबापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान–२०२४ बाट सम्मानित गरिएको थियो । माइती नेपालकी अध्यक्ष कोइराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, नृत्य निर्देशक अश्विनीकान्त झालगायतले भुसाललाई सम्मान प्रदान गर्नुभयो ।

प्रतियोगिताको मुख्य निर्णायकमा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्करराज राजकर्णिकार, अभिनेता शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेतृ उषा रजक, श्रीकेश तेलका अध्यक्ष टीकाराम बुढाथोकी रहनुभएको थियो ।