• ११ पुस २०८१, बिहिबार

सिस्नुपानीको देउसीभैलो

blog

हेटौँडा समाचारदाता

हेटौँडा, कात्तिक १२ गते । कला, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिस्नुपानी नेपाल मकवानपुरले देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । कार्यक्रममा सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको बेतिथिलाई देउसीभैलोमार्फत व्यङ्ग्य गरिएको छ । 

कार्यक्रमको उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले यस्ता कार्यक्रमले समाजलाई सचेत बनाउँदै सकारात्मक ऊर्जा थप्न मद्दत मिल्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार, कलाकारले प्यारोडी गायन, क्यारिकेचर, प्रहसन पुराणलगायतका प्रस्तुति राखेका थिए । कलाकार सागर तिमल्सिना र अजर फुयाँलको प्रस्तुतिमा दर्शक नाचेका थिए भने स्थानीय कलाकार सुमार्गी हुमागाईं, गहन खतिवडा, प्रलय चौलागाईं, कविराज हुमागाईं, स्वस्तिका दाहाल, प्रभास घिमिरेलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सिस्नुपानी नेपालले विगतका वर्षदेखि तिहारको अवसरमा शुभकामना आदानप्रदानसहित हास्यव्यङ्ग्यात्मक देउसीभैलो गर्दै आएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकारले शुभकामना दिनुभएको थियो ।