• २ माघ २०८१, बुधबार

पोषण अवस्थामा सुधार ल्याउन सहयोगको खाँचो

blog

कार्यक्रममा स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक ११ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशमा पोषण अवस्थामा सुधार ल्याउन सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ । 

वेल्थ हंगर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपालले  कमला जलाधार क्षेत्रका उत्थानशीलता तथा पोषण सुरक्षा परियोजना अन्तर्गत मधेश प्रदेशमा सञ्चालित दिगो पोषण परियोजनाको प्रदेश स्तरीय पाठ सिकाइ कार्यशाला गोष्ठीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंहले यस्तो बताउनुभएको हो । 

उहाँले यस परियोजनामार्फत आम नागरिकलाई पोषणयुक्त खाना खाने बानीको विकास गर्न र अनुशासितरुपमा कसरी जिवन विताउन सकिन्छ भन्ने बारेमा नागरिकलाई चेतना दिने काम भएको र यसले पोषणको अवस्थामा सुधार ल्याउने बताउनुभयो । 

उहाँले मानव सूचकांकको दृष्टिकोणले मुलुकमा पछाडी परेको मधेश प्रदेशमा पोषणको अवस्थामा विस्तारै सुधार आउन थालेको भन्दै घरमै उब्जिने सागसब्जीको प्रयोगबारेमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मधेश प्रदेशमा पर्याप्त मात्रामा खाद्यान्न भएपनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नभएका कारणले वालवालिकामा पुडकोपन, ख्याउटेपन, रक्तअल्पता तथा कम तौलको शिशु जन्म लिने समस्या यथावत रहनु चिन्ताको विषय भएको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालय मधेश प्रदेशका सचिव डा. सञ्जय ठाकुरले मधेश प्रदेशमा पोषणको अवस्थामा सुधारका लागि गैर सरकारी संघ संस्थाको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै समन्वय गरी एकद्वार प्रणालीमार्फत काम गर्न जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिवकुमार झाले मधेश प्रदेशका जिल्लामा पाकेट खाना तथा वच्चालाई डब्वाको दुध खुवाउने प्रबृत्ति बढेका कारणले वालवालिकामा कुपोषणको अवस्था उच्च रहेको बताउनुभयो । 

आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी भएका महिलाले परियोजनाले आफुहरुको जिवनशैलीमा सुधार ल्याएको बताउनुभएको थियो । कार्यक्रममा आसमान नेपालका निर्देशक नवल यादवले उक्त परियोजना सम्पन्न भए पनि पोषणको अवस्थामा सुधारका लागि आसमान नेपालको सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।