• १० मंसिर २०८१, सोमबार

सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गर्ने अठोट छ : मुख्यमन्त्री आचार्य

blog

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई सम्मान गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

दिवाकर पोख्रेल

देउखरी, कातिक ११ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनुभएको छ। 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताउनुभएको हो। 

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाच्न पाउने वातावरण सुनिश्चित गरिने बताउनुभएको छ। 

‘यहाँहरूले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ। मानव भएर मानवको हिसाबले बाच्न पाउनुपर्छ’ उहाँले भन्नुभयो,‘प्रदेश सरकार साझेदारी रूपमा यो अभियानमा जोडिन चाहन्छ। हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौँ।’ 

उहाँले लुम्बिनी प्रदेश भित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरूको विवरण सङ्कलन गरिने समेत जानकारी दिनुभयो। 

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धारटोली १३ औँ दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो। 

अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरूबाट हालसम्म २८ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो। 

पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो। 

यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङ्कल्प गरेको छ।