• १२ कात्तिक २०८१, सोमबार

राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी

blog

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी ।

काठमाडौँ, कात्तिक ११ गते । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसीले राजनीतिक हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताउनुभएको छ। 

सङ्घको ग्लोबल कन्केभ तथा साधरण सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले बारम्बार राजनीतिक हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताउनुभएको हो। 

कार्यक्रममा अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो छवि बनाउने काम गरिरहेको बताउनुभयो। विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधैँ तयार रहेको उल्लेख गर्नुभयो। 

‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिटेन्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भन्नुभयो,’ नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संशोधन गरेर सीमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’ 

अध्यक्ष केसीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिए पनि त्यसको कुनै काम नभएको बताउनुभयो। 

‘सरकारले नागरिकता त दिएको छ तर कुनै पनि सरकारी काममा प्रयोगमा आउँदैनन्,’ उहाँले भन्नुभयो, ‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनुपर्छ।’ 

उहाँले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताउनुभयो। ‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उहाँले भन्नुभयो, अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्‍यो।’