• १२ कात्तिक २०८१, सोमबार

पृथ्वी राजमार्ग विस्तारः दमौली बजारमा छ लेनको बनाउने काम सुरु

blog

दमौली बजारको सडक विस्तारको काम गरिँँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक ११ गते ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बनाउने कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाको अनुसार दमौली बजार क्षेत्रका ७५ वटा घरटहराका लागि करिब ६ करोड मुआब्जा वितरण गरिएको छ । सडक किनारका विद्युत् र टेलिफोन लगायतका पोल हटाइएपछि निर्वाध रुपमा काम सुचारु भएको आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । 

नाला, कल्भर्ट र पर्खाल निर्माणकार्य भइरहेको छ । आयोजनाका अनुसार हालसम्म पूर्वीमा ६८ र पश्चिम खण्डमा करिब ३० प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्रे भइसकेको छ । पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्रे भइसकेको आयोजनाले जनाएको छ । राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । आयोजनाका अनुसार पूर्वी खण्डको लागि ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा सम्झौता भएको छ ।