• १२ कात्तिक २०८१, सोमबार

उसुको विश्वकपमा नेपालका विजयलाई कांस्य पदक

blog

पदक विजेता विजय सिंजाली ।

काठमाडौँ, कात्तिक ११ गते । जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ ।

थाउलोको पुरुष जेन्सु विधामा नेपालका विजय सिंजालीले ऐतिहासिक कांस्य पदक जित्नुभएको हो । आइतबार बिहान सम्पन्न प्रतिस्पर्धामा ९.६३६ अङ्क प्राप्त गर्दै विजयले पदक जित्नुभएको हो ।

सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जित्नुभयो । १८औँ र १९औँ एसियन गेम्समा सहभागी विजय सिंजालीले अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगितामा चीनमा पनि कांस्य पदक जित्नुभएको थियो । 

१३औँ साग र १०औँ राष्ट्रिय गेम्समा स्वर्ण पदक जित्नुभएका उहाँले साउदी अरबको रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जित्नुभएको थियो । 

नेपाल उसु महासङ्घका महासचिव ल्हाक्पा छिरिङ लामाले नेपालले ल्याएको कांस्य पदक उसु खेलको इतिहासमै ऐतिहासिक भएको बताउनुभयो । 

टोकियोस्थित योकोहा सहरमा कात्तिक ७ गतेदेखि  सुरु प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले भाग लिएका छन् ।