• १० मंसिर २०८१, सोमबार

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार’

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी ।

काठमाडौँ, कात्तिक ११ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेस गरिएको बताउनुभयो।

उहाँले हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मङ्गला साहना दीर्घकालीन पुनः स्थापना गृह निर्माण कार्य पनि छिट्टै सुरु गर्ने बताउनुभयो।करिब ३० करोड लागतमा सो गृहको निर्माण कार्य सुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

मन्त्री साहले भन्नुभयो, ‘बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको छ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेस गरिएको छ ।’ 

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि मन्त्रालय स्तरीय समिति गठन भएर मस्यौदा तयार भएको हो।

महिला उत्थान परियोजनामार्फत निर्माण हुने मङ्गला साहना दीर्घकालीन पुनः स्थापना गृहको जग्गा विवाद सूर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको छ।अब छिट्टै करिब ३० करोड लागतमा लैगिक हिंसा पीडितको आश्रय तथा सेवाको लागि पुनस्थापना केन्द्र निर्माण हुने उहाँको भनाइ छ ।

मन्त्री साहले सडक बालबालिकाको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।