• १२ कात्तिक २०८१, सोमबार

जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

blog

पहाडी क्षेत्रतर्फ जाने सडकमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिरः मीना कँडेल

मीना कँडेल

कावासोती, कात्तिक ११ गते । नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्ने गरेका छन् । झण्डै डेढ दुई घण्टाको फरकमा गाडी छुट्ने भएकाले यात्रुको चाप बढी हुने र जिर्ण सडकका कारण यात्रुले कष्टपूर्ण रुपमा यात्रा गर्न बाध्य भएको हुप्सेकोट गाउँपालिका –४ धौवादीका गनबहादुर आलेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाडीमा जति सिट क्षमतामा यात्रु चढ्छन्, उतिकै मात्रामा सवारी हुटमा पनि यात्रु चढ्ने भएकाले पनि यात्रा जोखिम हुने गरेको छ । गाडी कम चल्छन्, मान्छेलाई जसरी पनि पुग्नुपर्ने अवस्था हुन्छ, त्यसमाथि बाटो निकै खराब छ । तर यो पहाडी क्षेत्रका बासिन्दाको बाध्यता हो” दलदले धौवादी २४ किलोमिटरको बाटो छ तर यहाँ एक चौथाइ मात्र कालोपत्र भएको उहाँले बताउनुभयो । 

स्थानीय छविन्द्र सारुमगरले भन्नुभयो, “पहिलाको गारेटो थियो, अहिले सवारी हिंड्न मिलेको छ । स्थानीयले विगतमा आवत–जावत गर्न आफैले खनेर बाटो बनाएका हुन् । करिब ३५ वर्ष अघि खनेको बाटो अहिलेसम्म बन्न नसक्दा आफूहरुलाई धेरै समस्या भएको बताउनुभयो । 

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको दलदले–धौवादी सडक खण्डको पाङग्रेमा बर्खायाममा बर्सेनी पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध  हुने गरेको उहाँले बताउनुभयो ।  जिल्लाको हुप्सेकोट गाउँपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका जोड्ने मुख्य सडक दुई दशक कट्दासमेत कालोपत्रे हुन नसकेको बताउनुभयो ।

स्थानीय भीमकुमारी ढेसवा मगरले बाटो बनेको छैन, तर पनि हामी सवारीमा अटी नअटी चढ्न बाध्य भएका छौं भन्नुभयो । सबै सामान लिन दलदले बजार जानुपर्ने र सवारी छुट्ने समयमा नचढे घर फर्कन गाह्रो हुने भएकाले पनि बाध्यताले सवारीको हुटमा भए पनि चढ्ने गरेको उहाँ बताउनुहुन्छ । 

नवलपुरको ग्रामीण सडकमा बर्षौ ठुला दुर्घटनाहरु हुने गरेका छन् । गाडीमा क्षमताभन्दा बढी यात्रु राख्नु दुर्घटनाको मुख्य कारण रहेको नवलपुर प्रहरीले जनाएको छ । दश जना अट्ने बलेरोमा २५–३० जनासम्म पनि चढाउने गरेका जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जाराले बताउनुभयो  । 

सवारीमा सिट क्षमताअनुसार यात्रु चढाउने, हुटमा यात्रु नचढाउन सचेतना दिइरहेको भए पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । देवचुली नगरपालिकादेखि कुमसोत, पोखरी, पाङगे्र, राइकोट, बबक, रुचाङ्ग, नरम र डेडगाउँ डाँडाझेरी, कोटथरलगायतका बासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका अर्खला, बुलिङ्गटार, धौबादी, रकुवा, रुचाङ्ग, भारतीपुर, मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।