• १२ कात्तिक २०८१, सोमबार

भारतीय पर्यटकको रोजाइमा कन्याम र अन्तु

blog

भारतको पश्चिम बंगालबाट मोटरसाइकल यात्रामा इलाम आइपुुगेका भारतीय पर्यटकलाई इलामको विल्याँटेमा स्वागत गरिंदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, कात्तिक ११ गते । मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । 

इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघमा, मानेभञ्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कँदा सीमावत्र्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको सङ्ख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ । 

यता, आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पुगाएर बिदाइ गरेको इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । 

‘अहिले इलामबाट पर्यटकीयस्थल माइपोखरी हुँदै सन्दकपुर जाने सडक राम्रो भएको छ । कच्ची सडक भए पनि यात्रा सहज छ’ सुब्बाले भन्नुभयो, ‘यही सडक भएर मोटरसाइकलमार्फत ती पर्यटकलाई सन्दकपुर लगेर बिदा गरिएको छ । अरू भारतीय नागरिक पनि इलामको बाटो भएर सन्दकपुरको यात्रा गर्न सम्पर्कमा आउनुभएको छ ।’ 

यसरी सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरवीरे चिया उद्योगको बिक्री केन्द्रले निःशुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालहरू नजिकबाट अवलोकन गर्न सकिन्छ भने बंगलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ । 

यस्तै, पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडा पालनसहित  स्थानीय रहनसहन, रेडपाण्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ । 

उता पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यतिबेला पर्यटकहरूको भिड बढेको छ । राम्रोसँग मौसम नखुलेको भए पनि अन्तु आएर रमाउने पर्यटकको सङ्ख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी मगरले बताउनुभयो । 

दसैँ–तिहार र छठका लागि विद्यालय एकै पटक बिदा रहेकाले लामो विधामा विद्यार्थी बढी आउनेगरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो । 

‘यो वर्ष पनि दैनिक आउने पर्यटकको सङ्ख्या बढेको छ । यहाँका होमस्टे, होटल र कटेजहरु बुकिङ भइरहेका छन्’ घिमिरेले भन्नुभयो ‘भारतीय पर्यटकले पनि अन्तुलाई आफ्नो राम्रो घुम्ने गन्तव्यका रूपमा राख्ने गरेको पाइएको छ ।’ 

अहिले दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटकहरू अन्तुमा रात बिताउने गरेका छन् । अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट भारतीय सवारीसहित आउने पर्यटक ठुलो सङ्ख्यामा आएका छन् । 

झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ । 

अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण बनेको छ । चियाबारी बिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ ।