• १० मंसिर २०८१, सोमबार

जिल्ला अस्पताल सुनसरीमा सेवा सुधारको माग

blog

सुनसरीको इनरुवामा भएको सर्वपक्षीय सारोकारवालाहरुको बैठकमा सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक ११ गते । सुनसरीका सरोकारवालाहरुले जिल्ला अस्पताल सुनसरीको सेवा सुविधामा सुधारको माग गरेका छन् । जिल्लाको सदरमुकाम इनरुवामा रहेको अस्पातलमा विभिन्न घटना र सवालहरुले विवादित बनेको भन्दै सरोकारवालाहरुले सेवा सुविधामा सुधारको माग गरेका हुन् ।

कोशी प्रदेश सभा सदस्य, नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा सुनसरीका राजनीतिक दल, जनप्रतिनिधि र नागरिक अगुवाहरुको उपस्थितिमा भएको सर्वपक्षीय छलफलमा सहभागीहरुले अस्पतालको सेवा सुविधामा सुधारमा जोड दिएका छन् । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको सबै सेवा, सुविधामा सुधारको आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीका सम्बन्धमा समेत सुधार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सुनसरीमा राजनीतिक दल, जनप्रतिनिधि र नागरिक अगुवाहरुको भेलाले स्वास्थ्यकर्मीको शान्तिसुरक्षा र बिरामीको उपचारमा सहजताका लागि भन्दै साझा प्रतिबद्धता समेत जारी भएकाले सेवा सुविधामा सुधार जरुरी रहेको बताउनुभयो ।

अस्पताललाई उपचार केन्द्रको रुपमा विकास गर्नुभएको र भएको स्रोतसधानको उपयोग गरेर सेवा दिनुपर्ने तथा थप सेवा सुविधाका लागि पहल गर्नुपर्ने इनरुवाका पूर्व नगरप्रमुख खेमराज पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार जिल्ला अस्पतालको सेवा सुविधा विस्तार तथा स्तरवृद्धिका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग माग गर्ने बेला आएको बताउनुभयो । उहाँले त्यसका लागि अस्पताल विकास समितिलाई सहयोग गर्ने ,अस्पताल बाट प्रवाह हुने सुविधामा सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्दै अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई भयरहित वातावरणमा सेवा प्रवाहको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । 

त्यसैगरी प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री रामप्रसाद मेहताले अस्पतालमा सेवा लिन आउने बिरामी प्रति चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लापरवाहीका कारण विभिन्न समयमा हुने घटनाले अस्पतालको सेवा प्रवाहमा असर पुगेको बताउनुभयो । उहाँले त्यसप्रकारका गम्भीर लापरवाहीका घटना हुन नदिन सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । नेपाल सरकारबाट प्रवाह हुँदै आएको गरिब,विपन्न, ज्येष्ठ नागरिकको उपचार सेवालाई प्रभावकारी बनाउन लक्षित वर्गको सहज पहुँचका लागि सूचना प्रवाह गर्न अस्पताल विकास समितिसँग अनुरोध गर्नुभयो ।

सामूहिक छलफल तथा भेलामा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, जिल्ला समन्वय समिति तथा जिल्ला अस्पताल व्यस्थापन समिति प्रमुख राजन मेहता, नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रदेश सभा राजीव कोइराला, इनरुवा नगरपालिकाका पूर्व मेयर खेमराज पोखरेल, सामाजिक अगुवा पोष्टकुमार नेपाल, अस्पताल सुधार समिति संयोजक दिलीप चन्द साह, नेकपा माओवादी केन्द्रका ओमकार दाहाल, रमेश भट्टराई, जसपा नेपाल महेन्द्र यादव, रमेश पोदार, रामधिन यादव, धर्मवीर आर्य, अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मण कार्की, दाताराम पोखरेल , पत्रकार शशी कोइराला, जयकृष्ण यादव, राजेन्द्र पोखरेल, अमर काफ्ले, मिलन पौडलसहितको उपस्थिति थियो ।