• १२ कात्तिक २०८१, सोमबार

२७ हजारभन्दा बढीमा डेंगु पुष्टि

blog

काठमाडौँ, कात्तिक ११ गते । डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् । मङ्गलबार २२ हजार ८२ जनामा डेंगु पुष्टि भएकोमा शुक्रबारसम्म पाँच हजार थपिएर डेंगु सङ्क्रमितको २७ हजार नाघेको छ ।

हुम्लाबाहेक ७६ जिल्लाबाट २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको इडिसिडीको तथ्याङ्कमा उल्लेख छ । 

इडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्की र काठमाडौँमा सबैभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । दाहालका अनुसार कास्कीमा सात हजार ८०, काठमाडौँमा चार हजार ६०, तनहुँमा दुई हजार १९९, पर्वतमा एक हजार ६६३, चितवनमा एक हजार ५७, बागलुङमा ९५१, गोरखामा ७९९, भक्तपुरमा ६२८, कैलालीमा ४२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो । 

प्रदेशअन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा १३ हजार ६९८, बागमती प्रदेशमा आठ हजार ४६१, कोशी प्रदेशमा एक हजार ७०९ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार चार सय, सुदूरपश्चिम प्रदेशमा एक हजार ११८, कर्णाली प्रदेशमा ३०७ र मधेश प्रदेशमा ४६० जनामा डेंगु पुष्टि भएको छ । अझ एक महिना डेंगुको जोखिम कायम रहेकाले सचेत रहन डा. दाहालले आग्रह गर्नुभयो ।