• १२ कात्तिक २०८१, सोमबार

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रयास गर्छाैं : स्वास्थ्यमन्त्री पाठक

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक ११ गते । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै योजना अघि बढाएको बताउनुभएको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताउनुभयो ।

प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको उहाँको भनाइ छ । "अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु", उहाँले भन्नुभयो ।

यसैबिच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले बताउनुभयो ।

अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहुनभएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताउनुभयो ।