• १२ कात्तिक २०८१, सोमबार

सिस्नुपानीको देउसी–भैलो हास्यव्यङ्ग्य कार्यक्रम

blog

देउसीभैलो कार्यक्रमको उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक ११ गते । कला, संस्कृतिको संरक्षण र संवर्धन गर्ने हेतुले सिस्नुपानी नेपाल मकवानपुरले देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको बेतिथिलाई देउसी–भैलोमार्फत व्यङ्ग्य गरिएको हो ।

देउसीभैलो कार्यक्रममा सांस्कृतिक जगेर्नाका साथै समाजमा भएको विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको थियो । देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रमको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले यस्तो कार्यक्रमले समाजलाई सचेत बनाउँदै सकारात्मक उर्जा थप्न मद्दत गर्ने बताउनुभयो । 

उहाँले विकास भौतिक पूर्वाधार मात्र नभई सामाजिक विकास पनि आवश्यक रहेको औँल्याउनुभयो । संस्कृति, परम्परा जोगाउन गरिएका यस्ता कार्यक्रमको उहाँले प्रशंसा गर्नुभयो । 

कार्यक्रममा साहित्यकार, कलाकारले प्यारोडी गायन, क्यारिकेचर, प्रहसन पुराण लगायतका प्रस्तुती राख्नुभएको थियो । कलाकार सागर तिमल्सिना र अजर फुँयालको प्रस्तुतिमा दर्शकहरू नाच्नुभएको थियो । स्थानीय कलाकार सुमार्गी हुमागाई, सत्याग्रही गहन खतिवडा, प्रलय चौलागाईं, कविराज हुमागाई, स्वस्तिका दाहाल र प्रभास घिमिरेले साङ्गीतिक प्रस्तुति दिनुभएको हो ।

सिस्नुपानी नेपालले विगतका वर्षदेखि तिहारको अवसरमा शुभकामना आदानप्रदानसहित हास्यव्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रमको आयोजना गर्दैआएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको सभाध्यक्षामा भएको कार्यक्रममा वडा ४ का अध्यक्षसहित अग्रज साहित्यकारले शुभकामना दिनुभएको थियो । 

हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेससँगको सहकार्य तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा सिस्नुपानी नेपाल मकवानपुरले तिहारको शुभकामनासहित देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको थियो ।