• १२ कात्तिक २०८१, सोमबार

साहित्यका मुकुटमणि देवकोटा

blog

नेपाली साहित्यका एक सशक्त महान् प्रतिभा, असाधारण बहुमुखी साहित्यिक व्यक्तित्वका धनी, युग द्रष्टा र भविष्य स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाले (विसं १९६६–२०१६) आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो । उहाँका विलक्षण साहित्यिक सिर्जनात्मक शक्तिले देवकोटालाई नेपाली साहित्यका मूर्धन्य साहित्यकारका रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा पनि अमर विभूतिका रूपमा प्रतिष्ठित गरेको छ । देवकोटाले विश्वका विभिन्न देशको भ्रमण गर्ने क्रममा विविध बौद्धिक, साहित्यिक कार्यक्रम सम्मेलनमा सहभागी भएर विश्वसमक्ष उहाँले जुन वैचारिक सूक्ष्मता, कल्पनाको विराटता, भावनाको व्यापकता र गहिराइ तथा आफ्नो विशिष्ट, ओजस्वी साहित्यिक व्यक्तित्वको परिचय दिनुभयो । त्यसले अन्तर्राष्ट्रिय जगत् अत्यन्त प्रभावित भयो । हिन्दीका विख्यात साहित्यकार राहुल साङ्कृत्यायनले महाकवि देवकोटालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्दै भन्नुभएको थियो, “देवकोटा नेपाली के पन्त, प्रसाद और निराला तिनो हैं इसमें अतिशयोक्ति नही है ।” (आजकल, हिन्दी मासिक, १ मई १९५३) वास्तवमा यस महत्वपूर्ण पङ्क्तिबाट महाकवि देवकोटाको साहित्यिक गरिमा महनीयता स्वतः छर्लङ्ङ भएको छ । 

युगको आकाङ्क्षा र आवश्यकतासित गाँसिएर जीवनपर्यन्त उहाँ जनमानसमा चेतना जगाउन, जनतालाई उद्घोषित गर्न देश सेवा र मानव कल्याणका लागि समर्पित र प्रयत्नशील रहनुभयो । आफ्नो युगका स्पन्दन राम्ररी बुझ्ने र कवि दायित्वप्रति सदैव सचेत रहने युगकवि देवकोटा २०१४ मा रुसको तासकन्दमा भएको अफ्रो एसियाली लेखक सम्मेलनमा साहित्य जगत्लाई दिनुभएको यो सन्देश अत्यन्त उपयोगी र महìवपूर्ण सिद्ध भएको देखिन्छ । 

‘अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नका निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नु परेको छ । ... उसले जनतामा भिज्नु पर्छ, जनताबाट सिक्नु पर्छ, समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्या तथा घटनाको अनुबोधनका लागि आत्मा खोतल्नु पर्छ ।’

साहित्यका कविता विधामा उहाँको ठुलो अभिरुचि र बहुमूल्य योगदान भए पनि साहित्यका विविध विधामा देवकोटाले सफलतापूर्वक कलम चलाउनुभयो । महाकविको उदारमना कवि–व्यक्तित्वले चिन्तनको गहिराइमा डुबेर विभिन्न दर्शन, विचारधाराका गहन अध्ययन मनन गरेर आफ्नो उदात्त जीवनदर्शन तयार गर्नुभयो । वेद, पुराण, उपनिषद्का गहिरो ज्ञाता देवकोटाले बुद्ध, नित्से, रुसो, माक्र्स, गान्धी आदि अर्थात् विभिन्न पूर्वीय र पाश्चात्य विचार दर्शन र साहित्यबाट उहाँले लोककल्याणकारी तत्वलाई आत्मसात् गरेर, त्यसलाई आफ्नो माटोको अनुकूल बनाएर, सञ्जीवनी बुटी सदृश आफ्नो रचनामा प्रयोग गरेर मानवता कल्याणका लागि पथ प्रदर्शन गर्नुभयो । आफ्नो युगका आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक आदि प्रत्येक क्षेत्रका गहिरो जानकारी देवकोटाले गहन चिन्तन मननका आधारमा अमृतकण निकालेर उहाँले जुन साहित्यिक अभिव्यक्ति दिनुभयो त्यो उहाँको आत्माको आवाज थियो, जुन सत्यको अत्यन्त नजिक भएको हुनाले सर्वग्राह्य पनि थियो । 

सरस्वतीका वरद पुत्र देवकोटा १० वर्षको उमेरदेखि नै कविता लेख्न थाल्नुभयो । उहाँका प्रारम्भिक कवितामा प्रकृतिपरक, स्वच्छन्दतावादी प्रवृत्ति रहेको पाइन्छ, आध्यात्मिक चेतनाले परिपूर्ण, दीनदुःखीप्रति सेवा भावना, मानव जातिका लागि प्रेम, परोपकार, मानव सेवाको भावना देखिन्छ । मन्दिर धाउनुभन्दा दीनदुःखीको सेवालाई नै सबैभन्दा ठुलो कर्म ठान्नुभयो । 

कवि परिस्थितिवश, समाज र युगको माग अनुसार विस्तारै विस्तारै यथार्थवादी, सुधारवादी र प्रगतिवादी बन्दै गएको हामी पाउँछौँ । उहाँका ‘गरिब’, ‘मुनामदन’, ‘महाराणा प्रताप’, ‘रावण जटायु युद्ध’, ‘बाघले बच्चा किन खान्छ’, ‘साँढे’ र ‘झन्झावीर’ जस्ता अनेकानेक रचना र कविता मानवतावादी भावनाकै व्यापक परिधिमा प्रवाहित भएको हामी पाउँछौँ । उहाँले २००५ सालमा ‘पहाडी पुकार’ लेखेर नेपाली जनताका दुःखदर्द, पीडा व्यथालाई जुन सशक्त वाणी दिनुभयो त्यो नेपाली साहित्यको इतिहासमा क्रान्ति चेतना फैलाउने अविस्मरणीय उदाहरण बन्न पुगेको छ । राणाका अन्याय र दमनका प्रतिकार गर्नका लागि र आफ्नो मानवीय हक र अधिकार प्राप्तिका लागि एकजुट भएर लड्नका लागि कविका शङ्खनाद जनतामा क्रान्ति चेतनाका आह्वान कति सशक्त रूपमा फुटेको छ :

“मानिस हुँ भने, मानिसझैँ जिऊँ

मानिसको हक लिऊँ ।”

‘रावण जटायु जुद्ध’ जस्ता रचनाद्वारा पनि कविले अन्यायका विरुद्ध सशक्त आवाज उठाउनका लागि जनतालाई प्रेरित गरेको छ । कविका अनुसार प्रजातन्त्रलाई बलियो र स्थायी बनाउनुका लागि नेपाली क्रान्तिका योद्धाहरू सदैव दुःख झेल्नका लागि र त्याग तपस्याका लागि तत्पर हुनु पर्छ । त्यसैले महाकवि देवकोटाले सदैव त्याग र उत्कर्षका लागि तत्पर प्रजातन्त्रप्रेमी, मानवतावादी, प्रमिथसका उदाहरण हामीसमक्ष राख्नुभयो । 

कवि देवकोटाका उत्तरवर्ती रचनामा सामाजिक असङ्गति, अन्यायप्रति विद्रोह, व्यङ्ग्यका स्वर झन् झन् टड्कारो हुँदै गएको देखिन्छ । ‘दाल–भात डुकु’, ‘छहरा’, ‘हुरीको गीत’, ‘भाँचूँ कि मेरो कलम’ जस्ता अनेकानेक कविताको माध्यमबाट उहाँले मानवमाथिको अत्याचारविरुद्धका आवाजलाई जनजागरणका उद्बोधनात्मक सन्देशलाई उत्कर्ष प्रदान गरेको पाइन्छ । देवकोटा प्रजातन्त्रप्रेमी हुनुहुन्थ्यो । जीवनभरि नै प्रजातान्त्रिक सङ्घर्षलाई प्रेरणा र प्रोत्साहन दिनुभएका देवकोटाले मृत्यु शøयामा पनि ‘प्रजातन्त्र फलोस्, फुलोस् र मर्न नपाओस्’ भनेर आफूलाई प्रजातन्त्रको प्रबल समर्थक सिद्ध गर्नुभयो । 

‘कर्मण्र्यवाधिकारस्ते मा फलेषु कन्दाचनम्’ मा पूर्ण विश्वास राख्ने कविले आफ्नो कवितामा मानव जातिलाई कर्ममा विश्वास राखेर प्रगति र निर्माणतिर डो¥याउँदै ‘कर्म जस्तो कदम छैन, मर्म जस्तो आँखा’ भनेर कामी दाइलाई नै वास्तविक विश्वकर्मा भनेर सम्बोधन गर्नुहुन्छ । कविले नारीलाई सर्जन शक्ति, जगत् जननी, जीवनलाई प्रेरणा दिने महान् आत्मशक्तिका रूपमा हेर्दै नारीप्रति देवकोटाले अपार ममता, सहानुभूति र श्रद्धा अभिव्यक्त गर्नुभएको छ :

‘निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ । 

यसकै भित्र छ फैलिरहेको जीवनको सब अन्तरमूल ।’

आफ्नो प्राचीन सभ्यता र संस्कृतिप्रति कवि देवकोटाका अटुट आस्था र गर्व देखिन्छ । आफ्नो देशका स्वर्णिम अतीतलाई सम्झेर ‘हाम्रो सभ्यता दिव्य सनातन’ भनेर एसियामा नै ज्ञानको प्रकाश दिने, जागृति फैलाउने नेपाली जातिका गौरव गान कविले धेरै प्रभावशाली ढङ्गले प्रस्तुत गर्नुभएको छ :

‘एसियाली जागृति–युग शिशु

हामी उषा सुत–नयापाली........।’

कविले एकातर्फ अनेकानेक ओजपूर्ण कविताको सिर्जना गरेर सुषुप्त जनचेतनालाई झङ्कृत गर्नुभएको छ, उद्बोधनको सन्देश दिनुभएको छ । त्यही देशका अनेकानेक समस्याको यथार्थ र सजीव चित्रण प्रस्तुत गरेर देशवासीलाई जागृत गर्ने दिशामा सशक्त प्रयास गर्नुभएको छ । साथै ‘पागल’ जस्ता अनेकानेक कविताको माध्यमबाट समाजमा व्याप्त अन्याय, अत्याचार र विकृतिमाथि प्रहार गर्दै समाजमा सुधार र समस्या समाधानतर्फ सशक्त रूपमा जोड दिँदै दिशा निर्देशन गर्नुभएको छ । मूलतः देवकोटा काव्यका मूल केन्द्रविन्दु नै मानवतावाद हो, आफ्नो समाज, आफ्नो देशप्रति जागरण चेतनासहित अन्तर्राष्ट्रिय भावना अर्थात् विश्वमा सर्वत्र शान्ति, स्वतन्त्रता, समानता, विश्व भ्रातृत्व र असल प्रजातन्त्रका अमर चाहना उहाँका कवितामा सर्वत्र प्रकट भएको पाइन्छ ।

महाकवि देवकोटाका अनुसार अनुवादकले नै उत्कृष्ट साहित्य र महान् स्रष्टालाई विश्वमा चिनाउँछ । अनुवादको महत्व बुझेर नै देवकोटाले तासकन्द सम्मेलनमा स्पष्ट रूपमा भन्नुभएको थियो, “अनुवादको अभावले नेपाली साहित्य पछाडि परिरहेको छ । अनुवादबिना हामी उठ्न सक्दैनौँ ।” अनुवाद साहित्यलाई उर्वर बनाउनमा उहाँले बहुमूल्य योगदान पुर्‍याउनुभएको थियो । नेपाली साहित्यलाई विश्वसमक्ष चिनाउने माध्यम नै अनुवाद हो भन्ने कुरामा उहाँले जोड दिँदै आउनुभयो । यसका लागि उहाँले आफ्ना र अन्य समकालीन कविका कविताहरू पनि अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले अङ्ग्रेजी साहित्यका १५ जना लेखकका निबन्ध चयन गरी प्रसिद्ध प्रबन्ध सङ्ग्रह (विसं १९९७) शीर्षकमा भाषानुवाद गराएर परिषद्बाट प्रकाशित गराउनुभयो । साथै सेक्सपियरको नाटक म्याकबेथ पनि उहाँले अनुवाद गर्नुभयो । 

साहित्यको उद्देश्यबारेमा उहाँले स्पष्ट रूपमा भन्नुभएको छ, “यसको (साहित्यको) अस्तित्वको समर्थन नै सामाजिक चक्षुको उन्मिलन, हृदयको विकास र त्यसद्वारा बुद्धिको उद्बोधनमा अडेको छ । त्यो युगको प्रतिविम्ब हो, तसर्थ सामाजिक दायित्वप्रति सचेतना नै असल साहित्यकारको पहिचान हुन्छ । साहित्यले सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्या र सङ्घर्षलाई सशक्त वाणी दिनु पर्छ र समस्या समाधानका लागि बाटो देखाउनु पर्छ । साहित्यमा सत्यम्, शिवम्, सुन्दरम् अवश्य अभिव्यक्त हुनु पर्छ ।” यसै मान्यता अनुसार देवकोटाले आफ्नो लेखनीलाई जीवनको सुन्दर अभिव्यक्ति र मानवीय मूल्यको उद्बोधक रूपमा सशक्त रूपले प्रस्तुत गर्नुभयो । मानव जीवनमा प्रेरणा, उल्लास र प्रकाश दिनुभयो । 

देवकोटा काव्यका गहन अध्ययनपश्चात् हामी यस निष्कर्षमा पुग्दछौँ कि शान्तिका योद्धा, स्वतन्त्रता, समानता, प्रजातन्त्रका पुजारी मानवतावादी, कवि व्यक्तित्वमा अथाह विराटता छ, व्यापकता छ । सारांशतः रचना परिमाणका दृष्टिले र गुणात्मक दृष्टिले अर्थात् भाव, भाषा, शैलीका दृष्टिमा पनि महाकवि देवकोटाको काव्य साधन, उहाँको अक्षुण्ण, सक्षम र परिपक्व कवि प्रतिभाको परिचायक हो । उहाँका कवितामा अभिव्यक्ति पक्ष जति सबल, सशक्त, सुन्दर, परिष्कृत र परिमार्जित छ, कला पक्षको पनि त्यत्तिकै सक्षम र समर्थ छ । नेपाली वाङ्मयका ज्योतिपुञ्ज, विश्वका नै एउटा महान् प्रतिभा महाकवि देवकोटाको विराट् साहित्यिक व्यक्तित्वलाई विश्वसमक्ष अझ प्रकाशमा ल्याएर उहाँको बेजोड असाधारण प्रतिभालाई अझ प्रतिष्ठापित गर्ने दिशामा प्रयास गर्नु पर्छ । उहाँका कृतिमा विशेष अध्ययन मनन अनुसन्धान गरेर उहाँका कृतिहरूका अनुवाद गराएर र उहाँका अप्रकाशित कृतिहरू प्रकाशित गराएर हामी विश्वसामु नेपाली साहित्यका बेजोड नमुना प्रस्तुत गर्न सक्छौँ । महाकवि देवकोटाका अमर सन्देश जन जनमा व्याप्त गर्नु नै उहाँप्रति हाम्रो सही श्रद्धाञ्जली हुने छ ।  

Author

प्राडा उषा ठाकुर